उत्तर कोरियाद्धारा तीन वर्ष यता पहिलो पटक राष्ट्रसंघका परमाणु निरिक्षकहरुलाई प्योङयाङ भ्रमणको निम्तो

संयुक्त राष्ट्रसंघका परमाणु निरिक्षकहरुलाई उत्तर कोरियाको निम्तो


उत्तर कोरियाले तीन वर्ष यता पहिलो पटक संयुक्त राष्ट्रसंघका परमाणु निरिक्षकहरुलाई प्योङयाङ भ्रमणको निम्तो दिएको छ ।

 

उत्तर कोरियाका प्रमुख परमाणु वार्ताकार रि योङ हो ले अमेरिकासंग हालै भएको सहमति लागु गर्ने विषयमा छलफलका लागि निमन्त्रणा दिइएको बताएका छन् । तर निरिक्षकहरुको कामबारे भने स्पष्ट नपारिएको अन्तर्राष्ट्रिय परमाणु उर्जा एजेन्सीले जनाएको छ । उत्तर कोरियामा किम जोङ उनले शासन सम्हालेको तीन महिनापछि राष्ट्रसंघको टोलीलाई भ्रमणको निम्तो दिइएको हो ।

गत महिना मात्र उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम र लामो दुरीको मिसायल परिक्षण रोक्ने र बदलामा अमेरिकाले २ लाख ४० हजार टन खाद्यान्न सहयोग गर्ने सहमति भएको थियो । सहमति अनुसार उत्तर कोरियाले राष्ट्रसंघका अनुगमनकर्ताहरुलाई योङनोप परमाणु केन्द्र निरिक्षणको अनुमति दिने जनाएको थियो ।

 

तर हालै मात्र किम इल सुङको १०० औं जन्मदिनको अबसरमा क्षेप्यास्त्र प्रक्षेपण गर्ने जनाएपछि उत्तर कोरियाले अन्तर्राष्ट्रिय समुदायसंग गरेको सहकार्य शंकाको घेरामा परेको छ ।