काठमाडौंमा बोक्सीको आरोपमा आँखा फोडी दिएको विरोधमा धर्ना

गोठाटारका महिलाहरुको धर्नाले बौद्ध प्रहरी चौकीमा तनाव


राजधानी काठमाडौंको गोठाटारमा हिजो बोक्सीको आरोपमा दुई महिलामाथि आक्रमण गरी सख्त घाइते बनाएको विरोधमा आज महिलाहरुले दोषीलाई कार्वाहीको माग गर्दै काठमाडौंको बौद्ध प्रहरी चौकीमा धर्ना दिएका छन् ।

 

गोठाटारका महिला एकसाथ प्रहरी कार्यालयमा धर्ना दिन पुगेपछि केहिबेर तनाव सिर्जना भएको थियो । १५ सयभन्दा बढी महिला दोषीलाई कहा कारवाहीको माग गर्दै प्रहरी वृत्त घेर्न पुगेका हुन् ।

 

आफ्नै दिदीहरु सुनिता पुडासैनी र खोमकुमारी दाहाललाई उनकै भाई दिलिप, बहिनी तारा र ज्वाई ज्ञानेन्द्रले माइतमा बोलाई बोक्सीको आरोपमा आँखा फोडी दिएका थिए । सुनिताको दुबै आँखा फोडिएको छ भने खोमकुमारीको कान काटिएको छ । घटनामा संलग्नमा तीन जनालाई प्रहरीले पक्रेको छ ।

 

पक्राउ पर्नेमा खोमकुमारीका सहोदर भाई दिलिप, बहिनी तारा र ज्वाई ज्ञानेन्द्र छन् । तीनै जनामाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलाइने प्रहरी वृत्त बौद्धका प्रमुख श्याम ज्ञवालीले जानकारी दिनुभयो ।