युरोपियन युनियनका विदेश मन्त्रीहरुले सिरियाका राष्ट्रपति बशार अल असादकी श्रीमती अस्मा अल असादलाई युरोप भ्रमणमा रोक लगाएका छन् ।
उनीहरुले राष्ट्रपति असादविरुद्ध यसअघि नै प्रतिबन्ध लगाएका थिए । बेलायतमा जन्मिएकी अस्माको सम्पत्तिमा पनि रोक लगाइएको छ । ३६ वर्षिया अस्मासँगै परिवारका अरु चार सदस्यलाई पनि यात्रामा प्रतिबन्ध लगाइएको छ ।
अस्माका बाबुआमा बेलायतमा छन् । बेलायती अधिकारीहरुले भने अस्मालाई बेलायत प्रवेशमा रोक नलगाइएको जनाएका छन् । पेशाले बैंकर अस्माले सिरियामा राजनीतिक सुधारको पक्षमा भूमिका खेल्ने अपेक्षा गरिएको थियो ।
राजनीतिक रुपमा निकै कम भूमिकामा रहेको बताइए पनि अस्माले केही समय अघि अझै पनि सिरियामा आफ्ना पति बशार अल असदको नतृत्व आवश्यक भएको भन्दै लेख लेखेकी थिइन् । आफना पति असादको शासनविरुद्ध ब्यापक जनप्रदर्शन भइरहेको भएप्नि आस्मा धेरै समय विदेश भ्रमणमा रहने र अति महँगा सामग्री किनमेल गर्ने गरेको वताइन्छ ।