अमेरिकी राष्ट्रपति बाराक ओबामाले उत्तरकोरियालाई भडकाउ र धम्कीबाट केही प्राप्त गर्न नसकिने चेतावनी दिनुभएको छ । उत्तरकोरियाले लामो दूरीको मिसाइल परीक्षणको तयारी गरिरहेकै बेला अमेरिकी राष्ट्रपतिले यस्तो चेतावनी दिनुभएको हो ।
अमेरिकी राष्ट्रपतिले परमाणु सुरक्षा सम्बन्धी अन्तराष्ट्रिय सम्मेलनको पूर्व सन्ध्यामा दक्षिण कोरियाली राष्ट्रपति ली म्यूगंवाक सँगको भेटवार्ताका क्रममा सियोलमा यस्तो टिप्पणी गर्नुभयो । आगामी महिना गर्ने भनिएको रकेट प्रक्षेपण नरोकेमा उत्तरकोरियाले थप प्रतिबन्धको सामना गर्नुपर्ने र बिश्वबाटै अल्लगिनुपर्ने भन्दै यी दुबै देशका राष्टपतिले उत्तरकोरियालाई खबरदारी गरेका छन् ।यसैबिच दक्षिण कोरिया र अमेरिका संयूक्त रुपमा प्रतिरक्षाका लागि तयार रहने प्रतिबद्धता पनि यी दुई राष्ट्रपतिले व्यक्त गरेका छन् ।
तर प्योङयाङले स्याटलाइट अन्तरिक्षमा स्थापित गर्न रकेट परिक्षण गरिन लागेको बताएको छ । यसअघि अमेरिकी राष्ट्रपति बाराक ओबामाले उत्तर र दक्षिण कोरियाको गैर सैनिक क्षेत्रको भ्रमण गर्नुभएको थियो । कोरियाको रकेट परिक्षण योजनाको विवादकाबीच सोलमा हुने परमाणु सम्मेलनमा भाग लिन दक्षिण कोरिया पुग्नु भएका ओबामाले दुबै देशको गैर सैनिक क्षेत्र पानमुङ जोनको पनि भ्रमण गर्नुभयो ।
सन् १९५३ मा कोरिया युद्धको अन्त्यपछि कोरियाली प्रायद्धिपलाई विभाजन गर्ने गैर सैनिक क्षेत्रमा ओबामाको यो पहिलो भ्रमण हो ।आजबाट शुरु हुने परमाणु सम्मेलनमा अमेरिका लगायत विश्वका ५० भन्दा बढी मुलुकका प्रतिनिधिहरुको सहभागिता रहने छ । सम्मेलन आपराधिक र लडाकु समुहहरुलाई परमाणु हतियार प्राप्त गर्नबाट कसरी रोक्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहने बताइएको छ ।