विश्वका नेताहरुले आणविक आतंकको बढ्दो चुनौति सामना गर्न नजिकबाट सहकार्य गर्न विश्व समूदायलाई आह्वान गरेका छन् । दक्षिण कोरियाको राजधानी सियोलमा जारी आणविक सुरक्षा सम्मेलनमा ६० भन्दा बढी मुलुकका राष्ट्र तथा सरकार प्रमुखले आणविक आतंकविरुद्ध सहकार्यको आह्वान गरेका हुन् ।
दक्षिण कोरियाका राष्ट्रपति ली म्युङ वाकले आणविक आतंकवाद ठूलो चुनौति रहेको बताउनु भयो भने अमेरिकी राष्ट्रपति बाराक ओबामाले आणविक आतंकवादविरुद्ध कारवाही मै जोड दिनु भयो । सम्मेलनमा सम्बोधन गर्दै ओबामाले अझै पनि धेरै खराब तत्वहरु रहेको र उनीहरुले खतरनाक आणविक भण्डारण र सामग्रीको प्रयोगलाई वढावा दिइरहेको अरोप लगाउनुभयो ।
चिनियाँ राष्ट्रपति हु जिन्ताओले आणविक आतंकविरुद्ध सबै मिलेर अगाडि बढ्नु पर्नेमा जोड दिनु भयो । यस्तै जापानका प्रधानमन्त्री योशिहितो नोडाले उत्तर कोरियालाई रकेट प्रक्षेपण रोक्न आग्रह गर्नु भयो । दुई दिने सम्मेलनमा अहिले सम्म उत्तर कोरियाले अर्को महिना गर्न लागेको रकेट प्रक्षेपणको योजनाले नै अरु विषयलाई ओझेलमा पारेको बताइएको छ ।
यद्यपी इरानको परमाणु कार्यक्रम पनि सम्मेलनमा छलफलको विषय बनेको छ । सम्मेलनमा सहभागि नेताहरुले आतंकवादको चुनौति लगायत आणविक सामग्रीको सुरक्षा र सुविधाका साथै आणविक सामग्रीको चोरी रोक्ने सम्बन्धमा पनि व्यापक छलफल गरेका छन् । तर आफ्नै मुलुक भित्र आणविक सामग्री कसरी सुरक्षित राख्ने भन्ने विषयमा भने सहमति भएको छैन ।