भक्तपुर – यसवर्षको् एसएलसी परीक्षा आजबाट सम्पन्न भएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीद्वारा सञ्चालित सो परीक्षा यही चैत ७ गतेदेखि मुलुकभर एकैसाथ सञ्चालन भएको थियो। छिटफुट घटनाबाहेक परीक्षा मर्यादितरुपमा सम्पन्न भएको परीक्षा नियन्त्रक डिल्ली रिमालले दाबी गरे।
सो परीक्षामा नियमिततर्फ चार लाख ४५ हजार ९७४ र एक्जाम्टेडतर्फ ८२ हजार २८३ गरी कुल पाँच लाख २८ हजार २५७ परीक्षार्थी सहभागी भएका थिए।
यसवर्ष मनाङमा सबभन्दा कम १०५ र सबभन्दा बढी काठमाडौँमा ३४ हजार १४ जना परीक्षार्थी सहभागी भएका थिए।
कार्यालयले परीक्षाका लागि पूर्वाञ्चलमा ४२२, मध्यमाञ्चलमा ५०९, पश्चिमाञ्चलमा ३७३, मध्यपश्चिमाञ्चलमा २६९ र सुदूरपश्चिमाञ्चलमा १७५ गरी कुल एक हजार ७४८ वटा परीक्षा केन्द्र निर्धारण गरेको थियो।
कार्यालयले परीक्षाका लागि मुलुकभर ५६ हजार जनशक्ति खटाएको थियो भने परीक्षामा अनियमितता हुन नदिन र परीक्षाको अनुगमन प्रभावकारी बनाउन यसवर्षदेखि मुलुकका १४ वटै अञ्चलमा एक-एकजना सहसचिव खटाइएको थियो।
यसवर्ष परीक्षामा लापरबाही गर्ने, तथा चिट चोर्न मद्दत एवम् अनियमितता गर्ने शिक्षक, कर्मचारी एवम् पदाधिकारीलाई तत्काल पक्राउ गरी रु एक लाख जरिवाना वा छ महिनासम्म कैद सजाय गराई कारबाही गर्ने व्यवस्था गरिएको थियो।
सरकारले ७५ वटै जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठन गरेको परीक्षा बोर्डलाई अनुगमन तथा कारबाहीसमेतको अधिकार दिएको थियो।
कार्यालयले परीक्षामा अनियमितता गर्नेलाई कारबाही गर्ने भनिए पनि कतिपय परीक्षा केन्द्रमा भएको अनियमिततामा संलग्न कसैलाई पनि कारबाही भने नभएको जनाएको छ।
कार्यालयले यसवर्ष एसएलसी परीक्षाका लागि आफू अध्ययनरत विद्यालयबाट फारम नभरी अन्य जिल्लाबाट फरम भर्ने र एकै व्यक्तिले दुईवटा जिल्लाका फरकफरक विद्यालयबाट फारम भर्ने दुई हजार ५०० विद्यार्थीको एकतर्फी फाराम रद्ध गरी सम्बन्धित विद्यालयबाट परीक्षा दिने व्यवस्था गरेको थियो।
गतवर्ष चार लाख ९६ हजार २४३ जना परीक्षार्थीका लागि एक हजार ६७२ वटा परीक्षा केन्द्र निर्धारण गरिएकामा गतवर्षभन्दा यसवर्ष ७६ वटा परीक्षा केन्द्र थप गरिएको थियो। रासस