प्रधानमन्त्री भट्टराईद्धारा उपत्यकाभित्र जारी सडक विस्तारबारे चासो लिँदै कम क्षतिमा उन्नत सडक बनाउन निर्देशन

काठमाडौं  – प्रधानमन्त्री बाबुराम भट्टराईले उपत्यकाभित्र जारी सडक विस्तारबारे चासो लिँदै कम क्षतिमा उन्नत सडक बनाउन निर्देशन दिएका छन् ।

ट्राफिक प्रहरीका डिआईजी गणेशराज राई र काठमाडौं उपत्यका नगर विकास योजना प्रमुख भाइकाजी तिवारीले बाटो विस्तारमा भइरहेका प्रगतिबारे जानकारी दिएपछि प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् । उनीहरुले लैनचौरदेखि लाजिम्पाट, महाराजगञ्ज हुँदै न्युरो अस्पतालसम्मको सडक विस्तारबारे फोटो र नक्सासहित प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

कम क्षतिमा सडक विस्तार गर्ने नीति अनुरुप सरकारले केही समय सो क्षेत्रको सडक विस्तार रोकेर सरोकारवालासँग छलफल थालेको थियो । प्रधानमन्त्रीले सडक विस्तार गर्दा हुने भौतिक क्षति, उनीहरुको पुनस्थापना र सडक निर्माण अबधिबारे जानकारी लिएका थिए । बैठकमा उनले कम भन्दा कम क्षतिमा राम्रो सडक निर्माण गनुपर्नेमा जोड दिए ।

यसअघि चैत्र ८ गते प्रधानमन्त्री कार्यालयमा सरोकारवाला निकायसँग भएको बैठकमा प्रधानमन्त्रीले थालनी गरिएका कामको तुरुन्तै परिणाम निकाल्न निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीले सडक विस्तार विशेष राष्ट्रिय अभियान भएको बताउँदै निर्माणको लागि कुनै कुराको पनि अभाव आउन नदिने प्रतिबद्धता जनाएका छन् । – कान्तिपुर