सिरियाको हिंसा अन्त्य गर्ने सम्बन्धी शान्ति योजनाको विषयमा इराकको राजधानी बग्दादमा अरब लीगको छलफल चलिरहेको बेला होम्स् शहरमा भने सुरक्षाकर्मीले बमबारी गरेका छन् । शहरमा जारी बमवारी र हिंसाका कारण त्यहाँबाट हजारौ मानिस पलायन भएका छन् । सरकारी सेनाले कलात अल मादिकस्थित विद्रोही गढमा आक्रमण गरेको विपक्षीले जनाएका छन् । आक्रमणमा ४० भन्दा बढी मारिएका छन् ।
यसैबीच, संयुक्त राष्ट्रसंघ र अरब लीगले सिरियालाई शान्ति योजना स्वीकार्न फेरि आग्रह गरेका छन् । सिरियाले भने अरब लीगको कदमलाई कुनै महत्व नदिने जनाएको छ । राष्ट्रपति असादले दमन कायमै राखेको भन्दै अरब लीगले सिरियालाई गत वर्ष आफ्नो सदस्यबाट निलम्बन गरिसकेको छ । यसअघि सिरियाले राष्ट्रसंघ र अरब लीगका विशेष दूत राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानको छ बुँदे शान्ति प्रस्ताव स्वीकारेको जनाएको थियो ।
सिरियामा एक वर्ष यता असादको शासनविरुद्ध भएको प्रदर्शनमा ९ हजारभन्दा बढी मानिस मारिइसकेका छन् भने हिंसा रोक्ने अन्तर्राष्ट्रिय प्रयास पनि सफल हुन सकेका छैनन् ।