अमेरिकाले बर्मामाथि लगाउदै आएको विभिन्न किसिमका प्रतिबन्ध खुकुलो गर्ने भएको छ । अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले यात्रा र वित्तीय प्रतिबन्ध केही खुकुलो बनाउने जानकारी दिनुभयो ।
क्लिन्टनले अमेरिकाले वर्मामा एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्टको कार्यालय खोल्ने र त्यहां एक पूर्णकालिक राजदूत पठाउने बताउनु भयो । बर्मामा हालै सम्पन्न उपनिर्वाचनमा प्रजातन्त्रवादी नेतृ आङ साङ सुचीको नेशनल लीग फर डमोक्रेसी पार्टीले धेरै स्थानमा विजय हासिल गरेपछि अमेरिकाले यो निर्णय गरेको हो ।
यो उपनिर्वाचन धेरै हदसम्म स्वतन्त्र र निष्पक्ष पनि मानिएको छ ।
अमेरिकी निर्णयसंगै बर्माका नेताहरुले अमेरिका भ्रमण गर्ने अनुमति पाउने छन् । यता यूरोपेली संघका नेताहरुले पनि बर्माविरुद्ध लगाइदै आएका केही प्रतिबन्ध हटाउने निर्णय गरिने बताएका छन् । हालै सम्पन्न आशियान सम्मेलनमा बर्माविरुद्ध लगाइदै आएका विभिन्न प्रतिबन्ध हटाउन माग गरिएको थियो ।