अफ्रिकी मुलुक मालीमा सैनिक विद्रोह गरी सत्ता कब्जा गरेका विद्रोही नेताहरुले सत्ता छोड्न सहमति जनाएका छन् । क्षेत्रिय संगठन इकोवाससँगको सहमतिपछि सैन्य नेतृत्वले नागरिक शासनको अनुमति दिने जनाएका हुन् ।
मध्यस्थकर्ताका अनुसार यसको बदला इकोवासले मालीविरुद्ध लगाउदै आएको व्यापार र आर्थिक नाकाबन्दी हटाउने छ भने सैनिक सरकारलाई माफी दिने छ ।
यस्तै इकोवासले उत्तरी क्षेत्रमा सक्रिय तौउरेग विद्रोहीविरुद्ध आफ्ना ३ हजार सेना पठाउने जनाएको छ । तैउरेग विद्रोहीले मालीको उत्तरी क्षेत्रलाई स्वतन्त्र राज्य घोषणा गरेपछि सत्ता कब्जा गरेका विद्रोही सैन्य नेतृत्व पछि हट्न बाध्य भएको बताइएको छ । सत्ता हस्तान्तरणको योजना अनुसार सैन्य नेतृत्वले सभामुख डिओनकोउन्डा ट्रेवरेलाई सत्ता सुम्पने छ भने ट्रेवरेले अन्तरिम राष्ट्रपतिको रुपमा निर्वाचन सुनिश्चित गर्ने छन् ।
इकोवाससंगको सहमतिमा सत्ताको नेतृत्व गरेका क्याप्टेन अमाडोस सानोगोले हस्ताक्षर गरेपनि सत्ता हस्तान्तरणको समय भने खुलाइएको छैन । उत्तरी क्षेत्रमा सक्रिय तौउरेग विद्रोहीविरुद्धको कारवाहीमा सरकारले आवश्यक कदम नचालेको भन्दै गत मार्च २२ मा सेनाबाट विद्रोह गरेकाहरुले सत्ता कब्जा गरेका थिए ।