अग्रज पत्रकार भैरव रिसाल र उहाँकी पत्नी सुशीला रिसालले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई शरीर दान गर्नु भएको छ ।
आज ललितपुरस्थित अस्पताल परिसरमा आयोजित कार्यक्रममा रिसाल दम्पत्तिले मृत्युपछि आफ्नो शरीर विद्यार्थीलाई प्रयोगशालामा उपयोग गर्न दिने दानपत्रमा हस्ताक्षर गर्नु भएको हो । कार्यक्रममा रिसाल दम्पत्तिले मृत्युपछि जलाएर खेर जाने शवलाई जिउँदो मानिसको स्वास्थ्य उपचारमा मद्दत पुगोस् भनि शरीर दान गरेको बताउनु भयो ।
नेपालमा शरीर दान गर्ने कानुनी प्रावधान नभएकाले विदेशबाट गैरकानुनी रुपमा शव किनेर नेपालमा प्रयोगशालामा प्रयोग हुने गरेको छ । उहाँहरुले सरकारलाई शरीर दान सम्बन्धी कानुनी व्यवस्था गर्न पनि आग्रह गर्नु भएको थियो । पत्रकार रिसाल ८३ बर्ष र उहाँकी पत्नी सुशीलाको उमेर ६९ रहेको छ ।