पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीको भारत भ्रमणलाई लिएर पाकिस्तानमा विरोध

पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीको भारत भ्रमणलाई लिएर पाकिस्तानमा विरोध भएको छ । सत्तारुढ पिपुल्स पार्टीका विरोधी राजनीतिक र धार्मिक दलले जर्दारीको भारत यात्राको विरोध गर्दै भ्रमण नै स्थगित गर्न माग गरेका छन् । राष्ट्रपति जर्दारी भोलि एक दिने भारत भ्रमणमा जांदै हुनुहुन्छ ।

 

पाकिस्तान सरकारले भ्रमणलाई राष्ट्रपतिको निजी भ्रमण भएको जनाएको छ । मुम्बई आक्रमणको मुख्य योजनाकार मानिने पाकिस्तानको जमात उद दावाका प्रमुख हाफिज सईदलाई पक्राउ गर्नेलाई अमेरिकाले १ करोड अमेरिकी डलर इनामको घोषणा गरेको केही दिन पछि नै जर्दारी भारत जान लाग्नु भएको हो ।

 

पाकिस्तानी संसदमा पनि विपक्षीहरुले जर्दारीको भारत भ्रमणको कडा आलोचना गर्दै कुनै पनि कार्यक्रम विना भ्रमण गर्न नहुने बताएका थिए ।

 

तर प्रधानमन्त्री युसुफ रजा गिलानीले भने भारतको अजमेर शरीफ जाने जर्दारीको कार्यक्रमको बचाव गर्नु भएको थियो । विपक्षीहरुले भने राष्ट्रपतिको भारत भ्रमण नरोके प्रदर्शन तिब्र बनाउने चेतावनी दिएका छन् ।