चीनमा चर्चिंत लोकतान्त्रिक प्रदर्शनको प्रेरणास्रोत मानिने फांग लीजाको निधन

चीनमा तियानमेन चोकमा सन् १९८९ मा भएको चर्चिंत लोकतान्त्रिक प्रदर्शनको प्रेरणास्रोत मानिने फांग लीजाको निधन भएको छ । ७६ वर्षिय फांग श्रीमतिसंगै अमेरिकामा निर्वासित जीवन बिताउंदै आएका थिए ।

 

सन् १९८९ मा लोकतन्त्र समर्थित चर्चित भाषणका कारण उनी प्रशासनको तारो बनेका थिए । उनलाई सरकार विरोधी गतिविधि गर्न विद्यार्थीहरुलाई उक्साएको आरोपमा चिनियां कम्यूनिष्ट पार्टीबाट निष्कासित गरिएको थियो । फांगले तियानमेन प्रदर्शनको खुलेर समर्थन गरेपनि प्रदर्शनमा उनको सहभागिता भने थिएन । चिनियां कम्युनिष्ट पार्टीकै सदस्य रहेका बेला उनले माक्र्सवाद च्यात्तिएको लुगा जस्तै भएकाले यसलाई छेउकुनो लगाउनु पर्ने कडा भनाई राखेका थए ।

 

 प्रदर्शनमाथि सरकारी दमन पछि उनी एक वर्ष सम्म अमेरिकी दूतावासको शरणमा बसेका थिए । पछि चीन सरकारले विदेश जाने अनुमति दिएपछि उनी सदाका लागि अमेरिका पुगे ।

 

सन् १९९० मा चीनको आग्रहका बाबजुत अमेरिकाले फांगलाई सुम्पन अस्वीकार गरेको थियो । उनी विरुद्ध चीनमा मृत्युदण्ड सम्मको सजाय हुन सक्ने आशंका गरिएको थियो ।