नयाँ दिल्ली, भारत – एक दिने निजी भ्रमणमा भारत आएका पाकिस्तानी राष्ट्रपति आसिफअली जरदारी र भारतका प्रधानमन्त्री मनमोहन सिंहबीच नयाँ दिल्लीमा द्धिपक्षीय सम्बन्धमा वार्ता सम्पन्न भएको छ।
वार्तापछि सञ्चारकर्मीसित कुरा गर्न आएका जर्दारीले सबै विषयमा छलफल भएको बताए। दुबैबीच आफसी सम्बन्धमा सुधार ल्याउने सम्बन्धमा छलफल हुने विश्वास गरिएको थियो।
जरदारी आइतबार दिउँसै राजस्थानको अजमेर स्थित ख्वाजा मोइनुद्धिन चिस्तिको दरबारमा दर्शन गर्न जादै छन्।
पाकिस्तानी राष्ट्रपति जरदारी अजमेर शरिफमा शिर निहुराउन आएको यो दोस्रो पटक हो। यस अघि सन् २००५ मा उनी पत्नी बेनजीर भुट्टोसँग यहाँ आएका थिए।
पाकिस्तानकी पूर्व प्रधानमन्त्री वेनजीर भने थुप्रै पटक अजमेर शरिफ आएकी थिइन्। उनले त्यतिबेला भ्रष्टाचारको आरोपमा थुनामा रहेका आफ्ना पति जरदारीको रिहाइको आशिर्वाद मागेकी थिइन्।
एक पटक दर्शन गरेर मागेको मनोकामना पुरा हुने विश्वास गरिएको ख्वाजाको दरबारमा शिर निहुराउने जरदारी चौथो पाकिस्तानी नेता हुन्। उनीअघि पूर्व सैनिक तानाशाह जियाउल हक, वेनजिर भुट्टो र अर्का सैनिक तानाशाह परवेज मुसर्रफ यहाँ आइ सकेका छन्। – एजेन्सी