फट्केर विष्णमती नदीको बाध नाघ्न खोज्दा चिप्लिएका एक बालक बेपत्ता

काठमाडौ- फट्केर विष्णमती नदीको बाध नाघ्न खोज्दा चिप्लिएका एक बालक बेपत्ता भएका छन् । नयाँ बजारको भ्याली कोल्ड स्टोर नजिकको बाँधमा खेलिरहेका सर्लाही ईश्वरपुरका ८ वर्षीय जुनाइद अन्सारी खोलामा खसेर बेपत्ता भएका हुन् ।

दिउँसो १२ बजे अन्सारी दुई भाइ र एक साथीसँग खेल्न गएका थिए । खोला नाघ्ने क्रममा अन्सारीको खुट्टा चिप्लिएर खोलामा खसेको उनीसंगै खेल्न गएका संजोग थकालीले बताए । ‘खोला नाघ्न खोज्दा खुट्टा इटामा परेपछि लड्यो’ थकालीले भने ‘हामीले कराएर उसलाई बोलायौं तर सुनेन ।’ खोलामा खस्ने बित्तिकै उनलाई पानीले घुमाएको घटनास्थलमा रहेका प्रत्यक्षदर्शी कमल तामाङले बताए ।

‘बच्चाहरू कराएको सुनेपछि उभिएर हेर्दा बच्चा घुमिरहेको थियो’ उनले भने ‘एकैछिनमा कता पुग्यो कता ।’ बच्चा नदीमा खसेको थाहा पाउने बित्तिकै स्थानीय ४ युवा खोलामा हामफालेका थिए । पौडी खेलेर बच्चा खोज्ने प्रयास गरे पनि फेला नपारेको स्थानीयले बताए । महानगरीय प्रहरी बिट धोबीचौर क्षेत्रपाटीका प्रहरी सहायक निरीक्षक तारा बिक प्रहरी पोशाकमै उद्धारका लागि हामफालेका थिए । थप उद्धारका लागि नेपाल प्रहरीको विशेष कार्यदल र सशस्त्र प्रहरीको टोली समेत त्यहाँ पुगेको थियो ।

स्थानीय बासीका अनुसार विष्णुमतीको त्यो बाँधमा बालबालिका खेल्ने र ठुला बडा समेत त्यही खोलाबाट बारी पारि गर्ने गर्छन् । महानगरीय प्रहरी प्रभाग लैनचौरका इन्सपेक्टर तिलक भारतीले बाँधमा लगाएको फलामे जालीमा बच्चाको कपडा अड्किएर तलै भएको हुनसक्ने बताए । अन्सारीसँग खेल्न उनका थकाली, नुर साहिद र अर्का एक बच्चा त्यहाँ गएका थिए । कान्तिपुर