पाकिस्तानका सेना प्रमुख जनरल अशफाक परवेज कियानीले भारत र पाकिस्तानले दुबैले विवादास्पद सियाचेन क्षेत्रबाट आफ्ना सेना फिर्ता बोलाउनु पर्ने बताउनु भएको छ । सियाचेनको गयारी क्षेत्रको भ्रमण पछि पत्रकारहरुसंग कुरा गर्दै जनरल कियानीले सियाचेनको सबै मुद्धा समाधान गर्न पहिला यो क्षेत्र शान्त रहनु पर्नेमा जोड दिनु भयो । राष्ट्रपति आसिफ अली जरदारी र गृहमन्त्री रहमान मल्लिकसंगै सियाचेन भ्रमणमा निस्किएका कियानीले पाकिस्तान र भारत दुवैका लागि सियाचेन कठिन मोर्चा भएकोले सेना फिर्ता गर्नु पर्ने बताउनु भयो ।
पाकिस्तानी सेनाध्यक्ष कियानीले ठूलो धनराशी खर्च भएको भन्दै सियाचेनको मुद्धा चांडै हल हुने विश्वास समेत व्यक्त गर्नु भयो । गत अप्रिल ७ मा सियाचेन क्षेत्रमा गएको हिमपहिरोमा परि ११ सर्वसाधरण सहित १ सय २५ पाकिस्तानी सेना हराइरहेका छन् । कास्मिरको सियाचेन हिमताल क्षेत्र भारत र पाकिस्तानवीचको विवादास्पद क्षेत्र हो । २२ हजार फिट उचाईमा रहेको यो ठाउंमा दुबै देशले आफ्नो स्वामित्व दावी गर्दै ठूलो संख्यामा सेना तैनाथ गर्दै आएका छन् । सियाचेन हिमनदी विश्वकै सबैभन्दा अग्लो युद्धक्षेत्रको रुपमा चिनिन्छ ।
यहा ंयुद्धले भन्दा पनि चिसोका कारण धेरै सैनिकको ज्यान जाने गरेको छ । यो क्षेत्रलाई सन् १९४७ मा भारत पाकिस्तान विभाजित हुंदा दुबै तर्फ बाडिएको थियो ।