परासी – परासीका गाउँलेले झगडा गर्ने झगडियाहरूलाई गाउँ प्रवेश निषेध गरेका छन् । रामग्राम नगरपालिका १ सण्डा गाउँका गाउँबासीले गाउँमै रहेको दुर्गा मन्दिर समितिको विषयलाई लिएर भएको झगडाका झगडियालाई गाउँ प्रवेश निषेध गर्ने निर्णय गरेका हुन् ।
झगडियाहरूकै कारण आफ्नो गाउँमा प्रहरी आतांक बढेको कारण देखाउँदै गाउँले भेलाले झगडाको किनारा नलागेसम्मका लागि गाउँमा दुवैलाई प्रवेश गर्न नदिने निर्णय गरेको स्थानीय गाउँले बलवन्त यादवले जनाए । यादवका अनुसार एउटाले आर्को माथि मुद्दा गर्दा प्रहरी गाउँमा आउने र अनावश्यक रूपमा गाउँलेहरूको घरमा खानतलासी गर्ने र गाउँलाई नै आतंकित गराउने खालको काम गरेकाले यस्तो निर्णय गरेका हुन् । सामान्य मन्दिरको समिति निर्माणका विषयलाई लिएर झगडा गर्ने, पछि सामान्य झगडालाई पनि राजनीतीकरण गर्दै गाउँमा आतंकित वातावरणको सृजना भएकाले यस्तो निर्णय लिन गाउँले बाध्य भएको यादवको भनाइ छ ।
केही दिन अगाडि दुर्गा मन्दिरको समिति निर्माण गर्दा गाउँकै मुरारी श्रेष्ठ र त्रिलोकी श्रेष्ठ लगायतले उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष समेत रहेका बैजनाथ जैसवाल माथि हात हालेको थिए । पछि जैसवालले उनीहरूविरुद्ध जिल्ला प्रहरीमा जाहेरी दिई जिल्ला प्रशासन कार्यालयमा सार्वजनिक मुद्दा दर्ता गराए थिए । मुद्दा दर्ता भएपछि सोही गाउँमा लुक्दै छिप्दै बस्ने श्रेष्ठद्वयलाई प्रहरीले खोज तलासको क्रममा बिहीबार गाउँमै प्रहरी पुगेर दुई घरमा खानतलासी गर्ने बहानामा घरभित्र पस्ने, दराज खोल्न लगाउने र स्थानीय गाउँलेहरू आक्रोसित भएका छन् । तर जैसवालले आफूमाथि बिनाकारण श्रेष्ठहरूले आक्रमण गरेकाले आफू उनीहरूमाथि सार्वजनिक मुद्दा दर्ता गराएको र गाउँलेलाई कुनै प्रकारको दुःख दिने नियतले काम नगरेको बताए । उनले यसका लागि शनिबार गाउँले भेलामै आफू गएर आफ्नो कुरा राख्ने बताएका छन् । – कान्तिपुर