ओसामा विन लादेनका विधवा र छोरा छोरीलाई पाकिस्तानद्धारा देश निकाला

पाकिस्तानमा अमेरिकी सैनिक कारवाहीमा मारिएका अल कायदाका प्रमुख ओसामा विन लादेनका विधवा र छोरा छोरीलाई पाकिस्तानले साउदी अरब पठाएको छ ।

 

ओसामाका तीन श्रीमतीबाट जन्मिएका ११ बालबालिका छन् । ओसामा परिवारलाई इस्लामाबादको एक बंगलाबाट कडा सुरक्षा सहित मिनिवसमा राखेर अन्तर्राष्ट्रिय विमान स्थल पु-याइएको थियो । उनीहरुलाई विशेष विमानबाट साउदी अरेबिया पठाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

 

सन् २०११ को मे २ मा उत्तर पश्चिम पाकिस्तानको एवटावादमा लादेन मारिएपछि उनका तीन विधवा र वालबालिकालाई पाकिस्तान प्रशासनले नियन्त्रणमा लिएको थियो । अवैध रुपमा पाकिस्तानमा बसेको आरोपमा उनीहरुमाथि पाकिस्तानी अदालतले ४५ दिनको कैद सजाय सुनाउनुका साथै देश निकाला गर्ने फैसला गरेको थियो । उनीहरुको कैद सजाय पुरा भएपछि साउदी पठाइएको पाकिस्तानी अधिकारीहरुले जनाएका छन् । लादेनका दुई पत्नी साउदीका र एक यमनी नागरीक भएको बताइएको छ ।

 

लादेन मारिनु अगाडि १० वर्ष सम्म पाकिस्तान मै लुकेर बसेको कुरा पत्नीहरुले पाकिस्तानी अधिकारीसँग खुलासा गरेका थिए ।