सन्धिखर्कमा स्थानीय मन्त्री टोपबहादुर रायमाझीद्धारा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्‍घाटन

सन्धिखर्क, अर्घाखाँची – अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा बिहीबारदेखि तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ।

 

प्रतियोगिताको उद्‍घाटन स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीले गरेका थिए।

 

सन्धिखर्कमा उद्‍घाटनका क्रममा रायमाझीले वर्तमान सरकार इतिहासकै सबैभन्दा सफल सरकार भएको दाबी गरेका छन्। प्रधानमन्त्री बाबुराम भट्टराईका निकटस्थ मन्त्री रायमाझीले शान्ति र संविधान निर्माणको ऐतिहासिक कार्यभार पूरा गरेको हुनाले यो सरकार सर्वाधिक सफल भएको दाबी गरे।

मन्त्री रायमाझीले सरकारको सफलताको मापक शान्ति र संविधान भएको बताए। ‘दलका प्रमुख नेताको सहयोग र सरकार नेतृत्वकर्ता बाबुरामजीको कुशल कार्यशैलीले ऐतिहासिक सफलतामा देशअघि बढेको हो, ‘ उनले भने ‘शान्ति पूरा भैसक्यो संविधान जेठ १४ भित्रै जारी हुन्छ।’


मन्त्री रायमाझीले कार्यक्रमकाबीच पटकपटक घडी हेर्दै कार्यक्रम छोट्याउन आग्रह गरेका थिए। ‘देशको ऐतिहासिक क्षणमा जिल्लामा रहदा मलाई जति गौरव लागेको छ उत्तिनै राजधानी पुग्न हतरा भएको छ,’ रायमाझीले भने ‘नेपालका दलहरु विरोधको उत्कर्षमा पुग्छन् र निश्कर्ष निकाल्छन्, अहिले पनि विरोध चुलिएका बेला राष्ट्रलाई निकास दिने सहमति भएको छ, यो गर्वको कुरा हो।’ मन्त्रीले कार्यक्रममा नेपाली सेना र प्रहरीको सलामी लिए। सरकार आजै विघटन हुने भन्दै उनले सलामी लिँदा अन्तिम सलामी भन्दै हाँसो चलेको थियो।


तीन दिन चल्ने खेलकुद प्रतियोगितामा जिल्लाका विद्यालयका विद्यार्थी सहभागी हुनेछन्। दौडने, उफ्रने, भलिबल लगायतका खेलहरु हुनेछन्।

 




अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.