हिमतालको बाँध अकस्मात फुट्न गई त्यससँगै ठूलो परिमाणमा पानी बाहिर निस्किई तल्लो तटिय क्षेत्रमा बाढी आउनु हिमताल फिष्फोट (ग्ल्यासियर लेक आउटब्रष्ट फ्ल्ड) हो । तर माछापुच्छ्रेमा त्यस्तो नभएको जानकारहरुको विश्लेषण छ ।
लामो समयदेखि अन्तराष्ट्रिय एकीकृत विकास केन्द्र (इसिमोड)मा हिमताल र हिमनदीको अध्ययनमा संलग्न प्रदीपकुमार मुलले हिउँसंगै पहिरो मात्रै गएको हुनसक्ने बताए ।
‘हिमताल विष्फोटै चाँही भएको होइन’ उनले ईकान्तिपुरसित भने, ‘बढी भिरालो भएकाले हिउँ मिसिएको पहिरोमात्रै हो ।’ हिउँसंगै माटो र ढुंगा मिसिएको पहिरोसमेत मिसिएर ढूलो बाढी आएको उनको तर्क छ । घटनास्थल माछापुच्छ्रे हिमाल सात हजार मिटर हाराहारी उचाईँमा भएकाले हिउँका ढिक्का आएर खोला थुनिएको हुन सक्ने उनले बताए । ‘रुख विरुवा पनि बगाएर ल्याएकाले हिमपहिरो मात्रै होइन’ उनले भने । नेपाली सेना र सरकारले पठाएको हेलिकोप्टरले घटनास्थलको विस्तृत अध्ययन गरिरहेको छ ।
इसिमोडको अध्ययन अनुसार सन् १९८५ मा खुम्बु क्षेत्रको डिगचो ताल विष्फोट हुँदा अर्बौ बरारबको नोक्सानी भएको थियो । इसिमोडले दुई वर्ष अघि हिमताल, हिमनदी र तीनको विष्फोटले तल्लो तटिय क्षेत्रमा पार्न सक्ने असरबारे विस्तृत अध्ययन गरेको थियो । नेपालमा २३३२३ हिमताल छन् ।
पछिल्लो अध्ययनले हिन्दुकुश हिमालय क्षेत्रमा बढेको तापक्रमका कारण यो शताब्दीको अन्त्यसम्म विश्वका ५ हजार मिटर भन्दा तल रहेका अधिकांश हिमनदीको आयतन ठोस रुपमा घट्ने देखाएको छ ।