प्रधानमन्त्री बाबुराम भट्टराईले एकीकृत माओवादी, नेपाली कांग्रेस र तराई केन्द्रित दलहरुको मोर्चाका प्रतिनिधिहरु संलग्न मन्त्रीपरिषद गठन गरेका छन्।
अर्को विपक्षी दल एमालेले शनिबार शपथ नलिएपछि सरकारले राष्ट्रिय सहमतीको स्वरुप भने लिन सकेन।
माओवादी र मोर्चाबाट दुई दिनअघि राजीनामा दिएका मन्त्रीहरु नै पुन: मन्त्री बनेका छन्।
नेपाली कांग्रेसका तर्फबाट महामन्त्री कृष्ण सिटौला र सूर्यमान गुरुङले मन्त्री पदको शपथ ग्रहण लिएका छन्।
माओवादीबाट नारायणकाजी श्रेष्ठ, पोष्टबहादुर बोगटी, वर्षमान पुन, दिननाथ शर्मा र टोपबहादुर रायमाझीले शपथ लिएका छन्।
मोर्चाबाट विजयकुमार गच्छदार, हृदयेश त्रिपाठी, महेन्द्र यादव र राजकिशोर यादवले शपथ लिएका छन्।
मोर्चाकै राजेन्द्र महतो मन्त्री सिफारिश भएपनि राजधानी बाहिर रहेकाले उनले शपथ नलिएका बताइएको छ।
सहमतिको सरकार बनाउनेमा हस्ताक्षर गरेको एमालेले यो सरकार सहमतीय हुने नहुने भन्ने विवाद बढेका कारण आज आफ्नो प्रतिनिधि नपठाइएको जनाएको छ।
एमाले सचिव युवराज ज्ञवालीले भने, “भोलिको हाम्रो केन्द्रीय कमीटीको बैठकले सरकारमा जाने कि नजाने निर्णय गर्नेछ त्यसैले आज हामी शपथ लिन्नौं।”
बाबुराम भट्टराईको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन दलहरू आफैले तय गरेको समयसीमाको शनिबार अन्तिम दिन थियो।
दलहरूबीच संविधानमा रहेका विवादित मुद्दाहरु खासगरी राज्यको शासकीय स्वरुप र संघीय संरचना लगायतका विषयमा गम्भीर मतभेद रहँदै आएको छ।
दुई दिनमा सरकार बनाउने र तेश्रो दिन आइतबार विवादित विषय मिलाउने भनेका दलहरुले समयमै आफ्नो प्रतिबद्धता पुरा गर्न नसके उनीहरुको आलोचना झनै बढ्दै जाने देखिन्छ।