हिमपहिरो मृतकका परिवारलाई र घरवारविहीनलाई २५ हजार रुपैयाँ राहत दिने घोषणा

प्रधानमन्त्री डा. बाबुराम भट्टराईले हिमपहिरोपछिको बाढीले क्षति पु-याएको कास्की जिल्लाका केही क्षेत्रको आज निरीक्षण गरी मृतकका परिवारलाई एक लाख र घरवारविहीनलाई २५ हजार रुपैयाँ राहत दिने घोषणा गर्नुभएको छ । हिमपहिरोपछि आएको बाढीले धेरै जनधनको क्षति पु-याएको कास्कीको माछापुच्छे्र्र गाउं विकास समितिको निरीक्षणमा प्रधानमन्त्रीका अतिरिक्त माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री विजय गच्छेदार जानुभएको थियो । उहाँहरु आज विहान हेलिकप्टरबाट त्यता जानुभएको हो ।


यता, हिमपहिरोका कारण सेती नदीको मुहान थुनिएर बनेको ताल फुट्दा आएको बाढीले बगाउँदा मृत्यु हुनेको संख्या १६ पुगेको छ । बाढीमा परी अझै केही हराइरहेका छन् । बगाइएका मध्ये पाँच जनाको जीवितै उद्धार गरिएको थियो । घाईते भएका ३ जनाको अवस्था गम्भीर छ । मृतक मध्ये खारापानीका गोपाल ताम्राकार र पोखरा लाग्राण्डी कलेजका छात्रा अर्चना श्रेष्ठको सनाखत भएको छ भने लाग्राण्डीकै अर्का छात्र चेतबहादुर थापा बेपत्ता छन् ।


बेपत्ता हुनेमा माछापुच्छेका ढुंगे बुढा, दोर्जे तामाङ, चस्मे बुढा, विष्णु गुरुङ छन् । अरुको नाम ठेगाना खुल्न सकेको छैन । प्रहरीका अनुसार बाढीमा चार जना विदेशी पर्यटक पनि बेपत्ता छन् । सार्दीखोलाबाट वेपत्ता हुने युक्रेनका तीन नागरिक हुन् । अर्का एकको पहिचान खुल्न सकेको छैन । माछापुच्छे हिमालको आधार शिविरभन्दा तल झण्डै ११ हजार फिट उचाईबाट पहिरो आएको थियो । थुनिएको नदी एक्कासी खोलिंदा नदीको बहाव करीब १५ देखि २० फिट अग्लो भएर बग्दा बढी क्षति भएको हो ।