काठमाडौं – नेपालमा सहरी क्षेत्रको तुलनामा पहाड तथा तराईमा औषतरुपमा तौल र उचाइ कम भएका बालबालिका रहेको एक अध्ययनले देखाएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोगको आर्थिक तथा प्राविधिक सहयोगमा स्वास्थ्य सेवा विभाग र शिक्षा विभागद्वारा संयुक्तरुपमा गरिएको अध्ययनले यस्तो निष्कर्ष निकालेको हो।
तराई, पहाड र हिमालका १५ जिल्लाका विभिन्न ७१ सरकारी तथा निजी विद्यालयका करिब छ हजार ८८७ छात्रछात्रामा गरिएको सो अध्ययनमा उमेरअनुरुपको तौल र उचाइ नभएको पाइएको छ।
छिमेकी मुलुक भारत र चीनका बालबालिकाको हाराहारीमा नेपाली छात्रछात्राको उमेरअनुरुपको तौल भएको तर जापानी बालबालिकाको तुलनामा कम भएको पनि अध्ययनमा उल्लेख छ।
पब्लिक हेल्थ एन्ड इन्फेक्सियस डिजिज रिसर्च सेन्टरद्वारा प्रकाशित सो अध्ययन विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुरुप गरेको दाबी गरिएको छ।
सो अध्ययन सार्वजनिक गर्न राजधानीमा आज आयोजित कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य शिवकुमार राईले यस्ता अध्ययन गर्दा जनजाति, दलित छात्रछात्रालाई विशेषरुपमा समावेश गर्न सुझाव दिए।
स्वास्थ्य सेवा विभागका महानिर्देशक मिङ्मार ग्याल्जेन शेर्पा र शिक्षा विभागका महानिर्देशक महाश्रम शर्माले विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमलाई अझ प्रभावकारीरुपमा सञ्चालन गर्न यस अध्ययनले सहयोग पुर्याउने बताए।
अध्ययन टोलीका संयोजक मेघराज बञ्जराले अध्ययनको औचित्य, चुनौती र देखिएका समस्याको समाधानका उपायका विषयमा प्रकाश पारेका थिए। रासस