जनकपुर – चार सूत्रीय माग राखी गत नौ दिनदेखि गरिँदै आएको मिथिला क्षेत्र बन्द मंगलबारदेखि स्थगित गरिएको छ ।
शान्ति तथा पुनर्निर्माण मन्त्रालयका सचिव ध्रुवप्रसाद शर्माले अपराह्न मिथिला राज्य संघर्ष समितिलाई पत्र लेखी वार्ताको माध्यमबाट समस्या समाधान गर्न आग्रह गरेपछि अनिश्चितकालीन बन्द फिर्ता लिइएको हो ।
संघर्ष समितिका सह संयोजक सुनिल मल्लिकले शान्ति मन्त्रालयको आह्वान तथा नागरिक समाजको आग्रहमा अनिश्चितकालीन बन्द फिर्ता लिइएको बताए । मल्लिकले भने-बन्द स्थगित गरिए पनि आन्दोलन भने जारी रहने बताए । उनले आन्दोलनको स्वरुप परिवर्तन गरिने जानकारी दिए ।
शान्ति तथा पुनर्निर्माण मन्त्रालयले संघर्ष समितिको नाममा पठाएको पत्रमा मिथिलावासीको मागप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको तथा बन्दका कार्यक्रमहरू स्थगित गरी समस्या समाधानका लागि पाँच सदस्यीय समिति गठन गरी मन्त्रालयमा सम्पर्क राख्न अनुरोध गरिएको छ ।
यसै बीच मिथिला राज्य संघर्ष समितिले मंगलबार सदभावना पार्टीका अध्यक्ष एवं स्वास्थ्य मन्त्री राजेन्द्र महतोको पुत्ला जलाएको छ । सोमबारको पत्रकार सम्मेलनमा महतोले ‘मिथिलाको मागको कुनै तुक नरहेको’ टिप्पणी गरेका थिए । – कान्तिपुर