काठमाडौं, वैशाख २८ – राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि संयुक्त सङ्घर्ष समितिले क्षत्री, ब्राह्मण, दसनामी सन्न्यासी, ठकुरी, दलितलगायतलाई आदिवासीमा सूचीकृत गर्नुपर्ने माग गर्दै आह्वान गरिएको नेपाल बन्दका कारण काठमाडौं उपत्यका लगायत देसभरको जनजीवन प्रभावित भएको छ।
समितिले आधुनिक नेपालको निर्माण हुनुअघिदेखि नै नेपालका विभिन्न स्थानमा बसोबास गर्दै आएका केही जातिको पहिचान सहितको अधिकार सुनिश्चित गर्नुपर्ने माग गर्दै आज र भोलिका लागि नेपाल बन्दको आह्वान गरेको हो।
बन्दका कारण शैक्षिक संस्था, यातायात, कलकारखाना, पसल लगायत ठप्प भएकाले जनजीवन प्रभावित भएको छ भने एम्बुलेन्स, विदेशी कूटनीतिक नियोग र सञ्चारमाध्यमका सवारी साधनलगायत अतिआवश्यकीय सेवा भने सञ्चालनमा छन्। बन्दकर्ता आज बिहानदेखि नयाँबानेश्वर, कोटेश्वर, सातदोबाटो, कलङ्की, कालीमाटी, गोङ्गबु, महाराजगन्ज, चाबहिल लगायतका क्षेत्रमा नारा, जुलुससहित बन्दमा उत्रिएका छन्। बन्दमा कुनै अप्रिय घटना नहोस् भनी ठूलो सङ्ख्यामा चोकचोकमा सुरक्षाकर्मी परिचालन गरिएको छ।
सङ्घर्ष समितिका संयोजक दिलबहादुर क्षत्रीले नयाँ बन्ने संविधानलाई सम्पूर्ण जनतालाई समानताका आधारमा न्यायिक अधिकारसहित सर्वस्वीकार्य बनाउन दबाब दिने उद्देश्यले बन्द आह्वान गरिएको जानकारी दिनुभयो। सङ्घर्ष समितिमा क्षत्री समाज नेपाल, ब्राह्मण समाज नेपाल, ठकुरी समाज नेपाल, दसनामी समाज, विभेदमुक्ति प्रगतिशील समाज, दलित जनजागरण समाज, खस क्षेत्री समाज र पिछडावर्ग समाजको सहभागिता छ।
चितवन- बाह्मण, क्षेत्री, दसनामी, ठकुरी र दलितसम्मिलित संयुक्त सङ्घर्ष समितिले गरेको नेपाल बन्दको प्रभाव आज बिहानदेखि चितवनमा परेको छ।
बाह्मण, क्षेत्री, दसनामी, ठकुरी र दलितलाई अब बन्ने नयाँ संविधानमा आदिवासीका रुपमा सुनिश्चित गराउनुपर्ने, अखण्ड नेपाल कायम हुनुपर्ने, प्रान्तीय राजधानी हुनुपर्ने, जातिका आधारमा राजधानी बनाउन नहुने लगायत माग राख्दै समितिले दुईदिनेनेपाल बन्दको आह्वान गरेको समितिका जिल्ला सहसंयोजक काशीराम शर्मा पौडेलले बताए।
बन्दका कारण लामो तथा छोटो दूरीका कुनै पनि सवारीका साधन चलेका छैनन्। नारायणगढ, भरतपुर, आँपटारी, टाँडी, पर्सा, भण्डारालगायत क्षेत्रमा आज बिहानदेखि बन्दकर्ता सडकमा आएर बन्द सफल बनाउन लागिरहेका छन्। ब्राह्मणहरुले ठाउँ-ठाउँमा शङ्ख फुकेर बन्द गराइरहेका छन्। बन्दका क्रममा प्रेस, एम्बुलेन्स, कूटनीतिक नियोग, मानवअधिकारकर्मी, परीक्षामा सहभागी हुने विद्यार्थीलगायतका सवारीका साधन भने सञ्चालन भएका छन्।
भ्ाद्रपुर-आफूहरुलाई अन्यको सूचीबाट हटाई आदिवासी जनजातिमा सूचीकृत गर्नुपर्ने र जातीय आधारमा राज्यको पुनःसंरचना गर्न नहुने माग राखी ब्राह्मण, खस क्षत्री, दसनामी र दलितले आह्वान गरेको दुईदिने नेपाल बन्दको पहिलो दिन आज बिहानदेखि झापामा व्यापक असर परेको छ।
मुख्य राजमार्गका साथै सहायक मार्गमा बिहानैदेखि सार्वजनिक यातायातका साधन नचलेको तथा शिक्षणसंस्था पनि पढाइ ठप्प भएका छन्। दुई सातादेखि विभिन्न जातीय मोर्चाले आआफ्ना पहिचानका साथ सङ्घीय राज्य स्थापना हुनुपर्ने माग राखी गर्दै भइरहेका पटक-पटक बन्दले पूर्वको जनजीवन अस्तव्यस्त बनेको छ।
विराटनगर- संयुक्त संघर्ष समितिद्वारा आह्वान गरिएको नेपाल बन्दबाट औद्योगिक नगर विराटनगरको जनजीवन प्रभावित भएको छ।
बजार बन्द हुनाका साथै यस क्षेत्रका कलकारखाना, उद्योग सञ्चालन भएको छैन।
त्यस्तै लामो तथा छोटो दूरीमा चल्ने सार्वजनिक यातायातका साधन, निजी सवारी चलेका छैनन्। यस्तै संस्थागत र सामुदायिक विद्यालय, उच्च माध्यमिक विद्यालय पनि बन्द रहेको छ। सडकमा मोटरसाइकल, रिक्सा, एम्बुलेन्स र सञ्चारका गाडी भने निर्बाधरुपमा सञ्चालन भएको छ।
जातीय आधारमा राज्य (सङ्घीयता)हुन नहुने, संयुक्त सङ्घर्ष समितिमा आबद्ध जातजातिलाई आदिवासीमा सूचीकृत गर्नुपर्ने तथा संविधान जेठ १४ गते जारी गर्नुपर्ने दबाबका लागि बन्दको आयोजना गरिएको आयोजकले बताएका छन्। आजै मुुस्लिम सङ्घर्ष गठबन्धनले पनि बन्दको आह्वान गरेको छ।
हेटांैडा-ब्राह्मणक्षेत्री समाज, दसनामी तथा दलित समुदाय सङ्घर्ष समितिले गरेको बन्द आह्वानबाट जनजीवन प्रभावित भएको छ।
बन्दको प्रभावले हेटौंडाबाट काठमाडौं, वीरगन्ज, नारायणगढ, पोखरातर्फ जाने लामो दूरीको यातायात सेवा बिहानैदेखि ठप्प भएको जिल्ल्ाा प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
बन्दले स्थानीय यातायात, हेटांैडा औद्योगिक क्षेत्र, शिक्षण संस्था पनि प्रभावित भएका छन्। बन्द आह्वानकर्ता सडकमै बसी बन्द सफल पार्न लागिपरेका छन्। -रासस