बंगालको खाडीको हावा सक्रिय भएपछि देशभर मेघगर्जनका साथ वर्षा

अब्दुल्लाह मियाँ

 

काठमाडौं  – बुधवारसम्म पहाडी र हिमाली क्षेत्रमा सक्रिय ‘प्रि मनुसन’ विहीवार देशभर सक्रिय भएको छ । विहीवार अपरान्हदेखि राजधानीसहित पूर्वदेखि पश्चिमसम्म नै वर्षा भएको छ ।

पूर्वी क्षेत्र हुँदै प्रवेश भएको बंगालको खाडीको हावा सक्रिय भएपछि देशभर प्रि मनुसन सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजेन्द्रप्रसाद श्रेष्ठले बताए ।

‘बंगालको खाडीबाट आएको हावा पूर्वी भाग हुँदै नेपाली भूभागमा प्रवेश भएपछि वर्षा सक्रिय भयो’ श्रेष्ठले भने । यो वर्षालाई विशेषज्ञहरुले ठन्डरसाउन (मेघगर्जन र असिनासहितको वर्षा) वर्षासमेत भनेका छन् ।

श्रेष्ठका अनुसार केही दिनदेखि भारतको विहार, सिक्किम र बंगलादेश तथा भुटानमासमेत प्रि मनुसन सक्रिय भएको छ । नेपालमा भने बुधवारसम्म हिमाली र मध्ये पहाडी जिल्लामा मात्रै हल्का वर्षा भएको थियो ।