काठमाडौ – जातीय राज्यको विरोधमा ब्राम्हण,क्षेत्री,ठकुरी,दशनामी लगायतको संयुक्त समूहले आह्वान गरेको दुई दिने नेपाल बन्दको आज(शुक्रबार) दोस्रो दिन पनि राजधानी काठमाडौं लगायत मुलुकको विभिन्न भागको जनजीवन प्रभावित भएको छ ।
सडकमा यातायातका साधान कुदेका छैनन् । शिक्षण संस्था, बजार तथा कलकारखाना बन्द हुँदा विद्यार्थी तथा मजदुर प्रभावित भएका छन् । गाडी नचल्दा सर्वसाधारणले बढी कठिनाई भोग्नु परेको छ । बन्दकर्ताले मध्यबानेश्वरमा एउटा ट्याक्सी जलाएका छन् । ठाउँ ठाउँमा प्रदर्शन गर्दै बन्दकर्ताहरुले गल्ली भित्रका पसलहरु पनि बन्द गराउँदैछन् । प्रहरीले एक दर्जन जति बन्दकर्तालाई पक्राउ गरेको छ ।
भक्तपुरमा झडप
भक्तपुरको सल्लाघारी चोकमा बन्दकर्ता र बन्दको अवज्ञा गर्न खोज्नेबीच भएको झडपमा तीन जना घाइते भएका छन् । ५ वटा मोटरसाईलमा आएका युवाहरुले बन्दको अवज्ञा गर्न खोजेका थिए । चोकमा रहेका बन्दकर्ता र उनीहरुबीच झडप भएको हो ।
प्रहरीका अनुसार देवेन्द्र थापा,मुकुन्द थापा,मुकुन्द खड्का र सागर कुँवर घाइते भएका छन् । उनीहरुको स्थानीय युवामुरा अस्पतालमा उपचार भइरहेको छ । स्थितिलाई प्रहरीले साम्य बनाएकोछ । अवज्ञा गर्ने समूहका एक जनालाई प्रहरी पक्रेको छ ।
पर्वत,पाल्पा,सिन्धुली,कपिलवस्तु र बर्दियामा बन्दको पूर्ण असर परेको त्यहाँस्थित कान्तिपुर संवाददाताहरुले जनाएका छन् ।
संचारकर्मी माथि दुर्व्यवहार
भरतपुर । बन्दमा मोटरसाईकल किन चलाएको भन्दै चितवनको रत्ननगरमा बन्दकर्ताले प्रेस चौतारी जिल्ला अध्यक्ष एवं गोरखापत्र संवाददाता शालिग्राम नेपाल माथि दुव्र्यहार गरेका छन् ।
आफु कार्यरत रेडियो चितवन जानेक्रममा रत्ननगरको बकुलहर चौकमा रहेका प्रदर्शनकारीले अपशब्द प्रयोग गर्दै मोटरसाईकलमा तोडफोड गरेका हुन् । प्रर्दशनकारीले उनेको प्रेस कार्ड तथा मोटरसाईकलको चाबी समेत खोसेर लगेका छन् । नजिकैका प्रहरीले छोडाउन खोज्दा प्रदर्शनकारीले नमानेपछि आफु भागेर रेडियो पुगेको बताए । प्रदर्शनकारीको तोडफोडबाट उनको मोटरसाईकलको शिसा फुटेको छ ।
स्वास्थ्यको तालिम हलमा तोडफोड
पाल्पा- जातीय राज्यको विरोधमा उत्रेका पाल्पाका कार्यकर्ताले जिल्ला स्वास्थ्य कार्यालयको तालिम हलमा तोडफोड गरेका छन् ।
जिल्लास्तरीय जनसंख्या सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिममा चलेका बेला बन्दकर्ता जिल्ला स्वास्थ्यको तालिमहल पुगेका थिए । तीन दिनदेखि चलेको तालिममा पुगेका बन्दकर्ताले झ्यालको शिसा, पंखा, बिजुलीका बल्व, प्रोजेक्टरमा क्षति पु्र्याएको जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारी मीनबहादुर बिष्टले बताए । उनले अन्तिम दिन भएकाले सकिनेबेलामा बन्दकर्ता पुगेका थिए ।
तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले तीनजना बन्द आयोजकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सचिन विष्ट, हरि गोदार र चिरञ्जीवी न्यौपाने छन् । बन्दकर्ताले उनीहरुको रिहाइको माग गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि नारा जुलुस गरेका छन् । जातीय राज्यको विरोधमा ब्राम्हण, क्षेत्री, ठकुरी, दशनामी लगायतको संयूक्त समूहले आहृवान गरेको दुई दिने बन्दका क्रममा पाल्पामा समेत सम्पुर्ण शिक्षणसंघसंथा, यातायात, पसल, होटल समेत बन्द भएका छन् । गाडी नचल्दा सर्वसाधरण यात्रुले सास्ती खेप्नु परेको छ । – कान्तिपुर