अखण्ड सुदूरपश्चिमको माग गर्दै गरिएको बन्दले सुदूरपश्चिमको जनजीवन विकराल बन्दै गइरहेको छ । आज १६ औं दिन आइपुग्दा पनि बन्द यथावत नै छ ।
सरकारसँग वार्ता गर्न हिडेको वार्ता टोली भने काठमाडौं आइपुगेको छ । टोलीले आज सरकारसँग वार्ता गर्ने बताइएको छ । सरकारले आन्दोलनरत पक्षसँग वार्ता गर्न उपप्रधानमन्त्री कृष्ण सिटौलाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो ।
लगातारको बन्दले सुदूरपश्चिमको जनजीवन निकै नै कष्टकर बनेको छ भने आज पनि प्रदर्शनकारीहरु सुदूरपश्चिमका विभिन्न जिल्लामा प्रदर्शनमा उत्रिएका छन् ।
हिजो जनजाति महासंघको अगुवाईमा धनगढीमै थारु सभा गर्ने भनिएकोमा थारु कार्यकर्ता र प्रहरीबीच भिडन्त भएको थियो । भिडन्तमा १० जना घाइते भए ।
अखण्ड सुदूरपश्चिमको माग गरिरहेका आन्दोलनकारीले सुदूरपश्चिमका विभिन्न जिल्लास्थित सरकारी कार्यालयका साइन बोर्डमा सुदूरपश्चिम स्वायत्त राज्य लेखेर सुदूरपश्चिम स्वायत्त राज्य घोषणासमेत गर्न थालेका छन् । RSS