काठमाडौँ – एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले तराई मधेसमा देखिएको पार्टीको समस्या हल गर्न पार्टीले केही दिनभित्रैमा कार्ययोजना ल्याउने बताएका छन्। उनले पछिल्लो समयमा मधेसमा माओवादी कमजोर भएको स्वीकार पनि गरेका छन्।
शनिबार आफ्नै निवास नयाँ बानेश्वरमा भोजपुरा राज्य समितिअन्तर्गतका नेता तथा कार्यकर्ताहरुसँगको भेटमा अध्यक्ष दाहालले पार्टीले तराईमा देखिएको समस्या हल गर्ने विषयमा वैज्ञानिक उपायहरुको खोज गर्ने र त्यसलाई पार्टी पदाधिकारीको बैठक बसी समाधान गर्ने बताएका एमाओवादीका सल्लाहकार जालिम मियाँले जानकारी दिए।
त्यस अवसरमा भोजपुरा राज्य समितिअन्तर्गतका नेता तथा कार्यकर्ताहरुले तराई मधेसमा पार्टी शुद्धीकरणको कार्ययोजना ल्याउन, पार्टीलाई जनताको दैनिक जीवनसँग जोड्न र जनपक्षीयरुपमा स्थानीयस्तरका कार्यक्रम ल्याउन आग्रह गरेका थिए।
भेटमा अध्यक्ष दाहालले पछिल्लो समयमा तराई मधेसमा पार्टीको सङ्गठन केही कमजोर भएको उल्लेख गर्दै त्यसलाई हल गरेर जाने पक्षमा पार्टी रहेको बताएका थिए।
– रासस