भारत सरकारको वायू सेवा कम्पनी एयर इण्डियाका पाइलटहरुको हड्ताल जारी

एयर इण्डियाका पाइलटहरुको हड्ताल आज पाचौं दिनमा


भारत सरकारको वायू सेवा कम्पनी एयर इण्डियाका पाइलटहरुको हड्ताल आज पाचौ दिन पनि जारी छ । हड्तालका कारण आज नयाँ दिल्ली र मुम्बईमा १६ वटा उडान रद्ध गरिएको छ ।

 

भारतीय समाचार एजेन्सी पिटीआईका अनुसार बरिष्ठ पाइलटहरुले प्रधानमन्त्री डा.मनमोहन सिंहलाई चाँडो आफुहरुको मागको सुनुवाई गर्न आग्रह गरेका छन् ।

 

वरिष्ठ पाइलटहरुले प्रधानमन्त्री र एयर इण्डियाका प्रबन्ध निर्देशकलाई पत्र लेखेर पाइलटहरुको माग पुरा गर्न ध्यानाकर्षण गराएका हुन् । इण्डियन पाइलट्स गिल्डमा आवद्ध एयर इण्डियाका २ सय जना पाइलट मंगलबारदेखि हड्तालमा उत्रिएका हुन् ।

उनीहरुले कम्पनीले खरिद गरेको नयाँ ड्रीमलाइनर बिमान उडाउने प्रशिक्षणको पहिलो अधिकार आफुहरुलाई दिनुपर्ने र पदोन्नती हुनेपर्ने लगायतका माग राखेका छन् । एयर इण्डियाले हिजो मात्रै २५ जना पाइलटलाई बर्खास्त गरेपछि आन्दोलन झनै चर्किएको छ ।

 

यसैबीच, एयर इण्डियाले नागरिक बिमान महानिर्देशनालय समक्ष इण्डियन पाइलट्स गिल्डका ११ पदाधिकारीको लाइसेन्स रद्ध गरिदिन अनुरोध गरेको छ । एयर इण्डियाले ५० अन्तराष्ट्रिय र ४ सय आन्तरिक उडान संचालन गर्दै आएको छ ।