प्रश्नावलीप्रति माओवादी प्रमुख सचेतक देवप्रसाद गुरुङलगायतले विरोध गरेपछि पुनः तर्जुमाका लागि फिर्ता भएको समिति सभापति निलाम्बर आचार्यले जानकारी दिए । ‘प्रश्नावलीका विकल्प, भाषालगायतमा सुझाव आएका छन्,’ उनले संवाददाताहरुसित भने, ‘सुझावलाई समेटेर पुनः तर्जुमा गर्न उपसमितिलाई पठाएका छौं ।
विवादित विषयमा मतदानमा जाने प्रश्नावली तयार नहुँदा पटक पटक स्थगित हुँदै आएको संविधानसभा बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि पुनः सूचना टाँस गरेर स्थगित भएको छ ।
विवाद समाधान उपसमितिले आइतबार नै सहमति हुन बाँकी १६ र सहमति भए पनि पुनः विवाद भएका १४ प्रश्नलाई मतदानमा लैजान संवैधानिक समितिमा पठाएको थियो ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल संयोजकत्वको उपसमितिले संविधानसभामा मतदानका लागि लैजान ३० प्रश्न संवैधानिक समितिमा पठाएको हो । संवैधानिक समितिले ती विवादलाई सभामुख सुवासचन्द्र नेम्वाङसमक्ष पठाउने र सभामुखले सभासद्लाई बुझाउने कार्यक्रम थियो । सभासद्ले अध्ययन गरेपछिमात्रै विवादित विषयमा मतदान हुनेछ ।