दलहरुसँग राजनीतिक सहमति गरेर जेठ १४ भित्रै संविधान जारी गर्नुपर्ने माओवादी निष्कर्ष

– दुर्गा खनाल

 

काठमाडौ – दलहरुसँग राजनीतिक सहमति गरेर जेठ १४ भित्रै संविधान जारी गर्नुपर्ने माओवादी स्थायी कमिटीले निष्कर्ष निकालेको छ । पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठले उक्त निर्णय गरेको हो । पार्टीहरूसँग छलफल गरेर जेठ १४ मै संविधान जारी गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको प्रवक्ता दीनानाथ शर्माले बताए ।

राजनीतिक सहमतिको विकल्प नभएकाले सबै यसप्रति सकारात्मक हुनेपर्ने शर्माको धारणा थियो । स्थायी कमिटीको बैठकपछि माओवादीले पार्टीभित्रैका जातीय मोर्चासँग छलफल गर्ने बताइएको छ ।

विवादित विषय रुपान्तरित संसदलाई

यसै गरी एमाले स्थायी कमिटीको बैठकले पनि जेठ १४ मा नै संविधान जारी गर्नुपर्ने निर्णय गरेको छ । जे जति विवाद समाधान गर्न सकिन्छ तीनको समाधान गर्ने र बाँकी विवादित विषयलाई रुपान्तरित संसदको जिम्मा दिने गरी भए पनि जेठ १४ भित्रै संविधान जारी गर्नु पर्ने एमाले नेता वामदेव गौतमले बताए । यसपछि नेताहरु संयुक्त बैठक बस्दै छन् ।