भारत सरकारको वायू सेवा कम्पनी एयर इण्डियाका पाइलटहरुको हड्ताल जारी

भारत सरकारको वायू सेवा कम्पनी एयर इण्डियाका पाइलटहरुको हड्ताल सातौ पनि जारी रहँदा यात्रुहरु अप्ठ्यारोमा परेका छन् । हड्तालबाट ८ अन्तर्राष्ट्रिय र ६ आन्तरिक उडान रद्ध हुँदा यात्रु अलपत्र परेका छन् । उनीहरुले विमानस्थलमा आफना झोलीझ्याम्टाका साथ विरोध प्रदर्शन गरेका छन् ।

 

भारतका नागरिक उड्डयन मन्त्री अजित सिंहले हड्ताल बन्द गरी काममा फर्कन गरेको आग्रहलाई पाइलटहरुले अस्वीकार गरेका छन् । इण्डियन पाइलट्स गिल्डमा आवद्ध एयर इण्डियाका दुई सय पाइलट गत मंगलबारदेखि हड्तालमा उत्रिएका हुन् । उनीहरुले कम्पनीले किनेको नयाँ ड्रीमलाइनर विमान उडाउने प्रशिक्षणको पहिलो अधिकार आफुहरुलाई दिनुपर्ने र पदोन्नती गरिनुपर्ने माग राखेका छन् ।

 

एयर इण्डिया सन् २००७ बाट इण्डियन एयरलाइन्ससँग मर्ज भएको हो । मर्ज हुनु अघिनै ड्रीमलाइनर विमान एयर इण्डियाले अर्डर गरेकोले त्यो उडाउने तालिममा आफुहरुलाई प्राथमिकता दिइनुपर्ने पाइलटहरुको माग छ । एयर इण्डियाले ७६ जना पाइलटलाई बर्खास्त गरेपछि आन्दोलन झन् चर्किएको छ ।

 

यसैबीच, एयर इण्डियाले नागरिक विमान महानिर्देशनालय समक्ष इण्डियन पाइलट्स गिल्डका ११ पदाधिकारीको लाइसेन्स रद्ध गर्न अनुरोध गरेको छ । एयर इण्डियाले ५० अन्तर्राष्ट्रिय र ४ सय आन्तरिक उडान संचालन गर्दै आएको छ ।