थुनामा राखिएका सभासद् श्यामसुन्दर गुप्ताले संविधानसभाको मतदानमा सहभागी हुन पाउने

काठमाडौं  – शरीर बन्धक तथा अपहरण मुद्दामा पूर्पक्षका लागि थुनामा राखिएका सभासद् श्यामसुन्दर गुप्ताले संविधानसभामा अन्तिम चरणको मतदानमा सहभागी हुन पाउने भएका छन्। मंगलबार सर्वोच्च अदालतले यस्तो अन्तरिम आदेश दिएको हो।

न्यायाधीशद्वय ताहिरअली अन्सारी र गिरीशचन्द लालको संयुक्त इजलासले निवेदक गुप्ताको जिकिरलाई उचित भन्दै संविधानसम्बन्धी विधेयकमा मतदान हुने अवस्था आएमा अन्तिम चरणको मतदान गर्न निज थुनामा रहेकै कारागारभित्र आवश्यक व्यवस्था मिलाउन आदेश दिएको हो।

इजलासले संविधानसभा सदस्यले पूरा गर्नुपर्ने दायित्व र प्राप्त अधिकारको प्रयोग गर्न पाउने भनी संविधानसभा नियमावलीलगायत ऐनमा कुनै व्यवस्था नगरेको र अदालतको आदेशले पुर्पक्षका लागि थुनामा रहेका सभासद् गुप्ताले अरू थुनुवाभन्दा बढी वा विशेष अधिकार वा सुविधा प्राप्त गर्ने भनी कुनै ऐन वा संविधानले व्यवस्था गरेको पाइँदैन पनि भनेको छ।


काठमाडौँका व्यापारी पवन सङ्घाईको अपहरणमा काठमाडौं जिल्ला अदालतबाट पूर्पक्षका लागि थुनामा रहेका निज गुप्ताले आफूलाई संविधानसभाको बैठकमा सहभागी गराउन र सेवा सुविधा उपलब्ध गराउन माग गर्दै गत वैशाख १० गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। रासस