गत वैशाख १८ गते जनकपुरको रामानन्द चोकमा गराइएको बिस्फोट शक्तिशाली र रिमोल कन्ट्रोलबाट सञ्चालित रहेको प्रहरीले जनाएको छ । आज जनकपुरमा पत्रकार सम्मेलन गरी केन्द्रिय अनुसन्धान ब्यूरोका प्रमुख उपेन्द्रकान्त अर्यालले बिस्फोट गराइएको बम अल्ट्रा मोर्डन क्राइमको स्वरुपमा रिमोट कन्ट्रोलबाट संचालित रहेको वताउनुभयो । उहाँले रामानन्द युवा क्लबका पूर्व अध्यक्ष एवं जिल्ला विकास समितिका सह लेखापाल जीवनाथ चौधरीलाई लक्षित गरी बिस्फोट गराइएको पनि वताउनुभयो । तर, उहाँले चौधरीलाइ नै लक्षित गरि बम विष्फोट गराइनुको कारणबारे भने केहि खुलाउनु भएन ।
तराई मधेश विद्यार्थी लिब्रेशन फ्रन्टको अर्जुन सिंह भनिने मुकेश चौधरीको निर्देशनमा बम विस्फोट गराइएको उल्लेख गर्दै अर्यालले बिस्फोटमा सप्तरी बिसहरिया गाविस वडा नम्बर ८ का जयप्रकाश चौधरी, धनुषा सपहीका सुरेशकुमार कर्ण, भुतही पटेर्वाका मुकेशकुमार कर्ण र महोत्तरी मडईका रिपेन्द्र झालाई प्रयोग गरिएको वताउनुभयो । चार जना अभियुक्त प्रहरी नियन्णमा रहेको र बिस्फोटमा संलग्न धनुषा लक्ष्मीपुर बगेवाका राजनमुक्ति भनिने रंजीत झा र महोत्तरी जलेश्वरका मुकेश चौधरी अझै पनि फरार रहेको उहाँले जानकारी दिनुभयो । प्रहरीले बिस्फोटमा अर्जुन सिंह र राजनमुक्ति बाहेक अरु समूहको पनि संलग्नता रहेको हुनसक्ने वताउनुभयो ।
जिल्ला ट्राफिक कार्यालय महोत्तरी र नेकपा एमाले धनुषा जिल्ला कार्यालयमा पनि सोहि समूहले विष्फोट गराएको प्रहरीले जनाएको छ । जनकपुर बम काण्डमा ५ जनाले ज्यान गुमाएका थिए । – RSS