आजको बन्दलाई आन्दोलनरत बृहत् मधेसी मोर्चाले पनि समर्थन गरेको छ। मोर्चाको आह्वानमा जेठ १ देखि तराईका केही जिल्ला बन्द छन्। आज त्यहाँ छैटौँ दिन लगातार बन्द भएको हो।
नाम र सीमाङ्कन बिनाको ११ प्रदेशको सहमति खारेज गर्नुपर्ने, पहिचानसहितको संघीयता हुनुपर्ने, आदिवासी जनजातिका हक अधिकार सुनिश्चित गर्नुपर्नेलगायतका माग राखेर उनीहरु आन्दोलनमा छन् ।
प्रेस तारो-
नेपाल बन्दमा एम्बुलेन्स, प्रेस, रेडक्रस, दमकल, स्वास्थ्यसेवा, मानव अधिकार अनुगमन टोली, मलामी, जन्ती, कुटनितिक नियोग, विदेशी पर्यटक, पिउने पानीको टयाङ्कर, दूध, पेट्रोल, डिजेल ग्यास, औषधी पसल, औषधीको गाडी र सुरक्षा निकायका गाडीहरुलाई अवरोध नगर्न आयोजकका तर्फबाट नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखीले विज्ञप्ति जारी गरे पनि प्रेसमाथि समेत आक्रमण भएका छन्।
बुटवलमा पत्रिका पुर्याएर फर्कँदै गरेको नागरिक दैनिकको गाडी कपिलवस्तुको अरैयामा तोडफोड गरिएको छ। आक्रमणबाट गाडीका शिशाहरु फुटेको छ।
काठमाडौँको बौद्धमा बा९च ५५३७ को कान्तिपुरको भ्यान र कुपण्डोलमा कारोबार दैनिकको सवारी साधन तोडफोड भएको छ। त्यस्तै ग्वार्कोमा हिमालय टेलिभिजनका क्यामेराम्यान वाइपी घिमिरेको बा २० प ३८९९ नम्बरको मोटरसाइकलमा आगजनी गरिएको छ। घिमिरेले पत्रकार परिचय पत्र देखाउँदादेखाउँदै प्रेस ज्याकेटसमेत खोल्न लगाएर मोटरसाइकलमा आगजनी गर्दै क्यामेरा फुटाल्ने प्रयास गरेको नेपाल पत्रकार महासंघ, हिमालय टेलिभिजन प्रतिष्ठान शाखाका अध्यक्ष प्रह्लाद गुरागाईंले बताए। गुरागाइँले विज्ञप्ति प्रकाशित गर्दै दुर्व्यवहारको निन्दा गरेको छ। बानेश्वरमा कान्तिपुर टीभीको बा८च ७८७७ नम्बरको भ्यानमा पनि तोडफोड भएको छ।
नेपाल आदिवासी जनजाति महासङ्घ तथा महासङ्घ आबद्ध आदिवासी जनजाति संयुक्त सङ्घर्ष समितिको प्रेस जगतप्रति सदैव सम्मान रहँदै आएको छ भन्दै समितिले प्रेस जगतले निर्वाध समाचार सङ्कलन गर्न पाउने अकुण्ठित अधिकारलाई हामी बिनासर्त समर्थन गर्दछौं भनिएको छ। प्रेस जगतमाथि आक्रमणको कुकृत्य गराएर आन्दोलनलाई बदनाम पार्ने सरकारी षडयन्त्रप्रति सचेत र संयमित हुन सडकमा बसेर सङ्घर्ष गरिरहनुभएका सम्पूर्ण साथीहरु तथा सञ्चारकर्मीहरुलाई पनि आह्वान गर्दछौं- महासङ्घका अध्यक्ष राजकुमार लेखीले भनेका छन्।