मधेसी मोर्चासहितको तीन दल र बन्दकर्ता जनजाति महासंघबीच भएको वार्ता निष्कर्षहीन भएको छ ।
भर्खरै सम्पन्न वार्तामा राजनीतिक दलहरुले बन्द फिर्ता लिन आह्वान गर्दै आन्दोलनकारीको मागप्रति लचिलो दृष्टिकोण राखेका थिए ।
तर, बन्दकर्ताले आन्तरिक छलफलका लागि समय मागेपछि ३ बजेसम्मका लागि वार्ता स्थगित भएको छ ।
प्रमुख दलका शिर्ष नेताहरुले जनजातिले उठाएको मागप्रति सकारात्मक धारणा राखेपछि बन्दकर्तालाई अब के निर्णय लिने भनेर फसाद परेको छ ।
यसअघि, मुख्य तीन दल र मधेशी मोर्चाले जातीय सद्भाव खलवलिन नदिन सबैमा आग्रह गरेका थिए ।
जारी आन्दोलनको क्रममा जातीय सद्भाव विथोलिने गरी झडपहरु हुन थालेपछि आज बसेको तीन दल र मधेशी मोर्चाको बैठकले जातीय सद्भाव नबिथोलिने गरी विरोधका कार्यक्रम गर्न आग्रह गरेको हो ।
संविधानसभा भवन नयाँ बानेश्वरमा भएको बैठकमा नेताहरुबीच देशब्यापी रुपमा भइरहेका आन्दोलन र दिनप्रतिदिन अस्तब्यस्त बन्दै गएको जनजीवनलाई सहज बनाउनेबारे छलफल भएको थियो । बैठकमा कतिपय नेताहरुले बिग्रदो परिस्थितीलाई सम्हाल्न प्रभावकारी भूमिका नखेलेको भन्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आलोचना गरेका थिए । बैठकपछि नेताहरुले वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न आन्दोलनरत पक्षहरुलाई आग्रह गरेका छन् । आजको बैठकमा संविधान लेखनका विवादित विषयबारे भने कुनै छलफल नभएको नेताहरुले वताएका छन् । यसैबीच, सरकार र आदिवासी जनजाति संयुक्त संघर्ष समितिका प्रतिनिधिबीच संविधानसभा भवन नयाँबानेश्वरमा वार्ता शुरु भएको छ । वार्तामा तीन दलका शीर्ष नेता र समितिका प्रतिनिधिहरु सहभागि छन् ।
११ प्रदेश मान्य नहुने र जातीय पहिचानसहितका प्रदेश बनाउनुपर्ने माग राखेर समितिले बन्दसहितका विरोध कार्यक्रम गरिरहेको छ । rss