उग्र प्रदर्शन तथा तोडफोडको घटनापछि नेताहरूका घरमा सुरक्षा व्यवस्था कडा

जनकपुर – बृहद् मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालीन मधेस बन्दको चौथो दिन सोमबार पनि जनकपुर बाजार बन्द रह्यो । पटक पटकको बन्दलाई दृष्टिगत गरी निजी तथा आवासीय विद्यालय पहिल्यैदेखि नै बन्द छन् । जनकपुर रेल्वेसहित यातायातका साधन ठप्प रहे ।

 

आइतबार कांग्रेसका पूर्व महामन्त्री विमलेन्द्र निधीको घर अगाडि गरिएको उग्र प्रदर्शन तथा ढुंगा मुढाको घटनालाई दृष्टिगत गरी स्थानीय प्रहरीले कांग्रेस सम्बद्ध सभासदह विमलेन्द्र निधी, रामसरोज यादव, रामकृष्ण यादव, महेन्द्र यादव तथा वन तथा वातावरण मन्त्री यदुवंश झाको मिल्स एरियास्थित घर अगाडि सुरक्षा व्यवस्था कडा बनाएको छ ।

 

प्रहरी उपरीक्षक पुरुषोत्तम कंडेलका अनुसार आवश्यकता परे अन्य नेताहरूको घरलाई पनि सुरक्षा दिन सकिन्छ ।

 

कांग्रेसका पूर्व महामन्त्री एवं सभासद विमलेन्द्र निधिको घर अगाडि गरिएको उग्र प्रदर्शन तथा तोडफोडको घटनालाई स्थानीय संघ संस्थाले निन्दा गरेका छन् । मिथिला राज्य संघर्ष समितिका संयोजक परमेश्वर कापडीले लोकतन्त्रमा सबैलाई आफ्नो विचार राख्ने अधिकार हुन्छ । विज्ञप्तिमा मिथिला राज्यको पक्षमा बोल्ने निधिको घरमाथि भएको आक्रमणको घटनालाई निन्दा गरिएको छ । यसै गरी मिथिला नाट्यकला परिषद, रामानन्द युवा क्लब, श्रीराम युवा क्लव, महावीर युवा क्लबले पनि कांग्रेस नेता निधिको घरमाथि भएको आक्रमणको घटनाको भर्त्सना गरेको छ ।

 

बन्द सफल बनाउँन मोर्चा सम्बद्ध नेता तथा कार्यकर्ता दिनभरि प्रदर्शन गरेका थिए । अपराह्न भानु चौकमा आयोजित कोणसभालाई फोरम नेपालका अध्यक्ष शेषनारायण यादव, फोरम लोकतान्त्रिकका महाशंकर ठाकुर तथा एकीकृत नेकपा माओवादीका देवसागर दास लगायतका नेताहरुले संवोधन गरेका थिए । उनीहरुले समग्र मधेस एक स्वायत प्रदेशलाई संवैधानिक मान्यता नदिएसम्म आन्दोलन जारी रहने प्रतिवद्धता व्यक्त गरेका थिए ।

 

कान्तिपुर