नेपाली कांग्रेसद्धारा बाँकी पाँच दिनको अविध भित्र संविधान जारी गरिनुपर्ने अडान

काठमाडौ – नेपाली कांग्रेसले संविधानसभाको म्याद थपसम्बन्धी प्रस्ताव्रति आपत्ति जनाएको छ । सरकारले तीन महिना म्याद थप्ने निर्णयलाई कांग्रेसले अस्विकार गर्ने जनाएको छ ।

 

सभापति सुशील कोइरालाको महाराजगंज निवासमा बुधबार बिहान भएको पदाधिकारी र केही केन्द्रीय सदस्यहरुको अनौपचारिक छलफलले म्याद थपको पक्षमा नजाने निर्णय लिएको छ ।

 

बैठकमा अधिकांशले म्याद थप्नु उचित नहुने भन्दै सरकारबाट फिर्ता हुन नेतृत्वलाई दवाब दिएका छन् । कांग्रेस अहिले सरकारमा पनि छ । मन्त्रिपरिषद् बैठकले म्याद थपको निर्णयलाई मंगलबार अनुमोदन गरेको थियो ।

 

कांग्रेसले बाँकी पाँच दिनको अविध भित्र संविधान जारी गरिनुपर्ने अडान राखेको छ । म्याद थपिनु भनेको सर्वोच्चको मानहानी हुने कांग्रेसको निष्कर्ष छ । थप छलफल र निर्णयका लागि ४ बजे केन्द्रीय समितिको बैठक बोलाइएको छ । –कान्तिपुर