काठमाडौ । सरकारको संविधानसभाको म्याद थप्ने निर्णयको विरोधमा उभिएका नेपाली काग्रेस र नेकपा एमालेको आज बसेको संयूक्त बैठकले जेठ १४ अघि नै पाँच बुँदे सहमति अनुसारको नयाँ सहमतिको सरकार गठन हुनु पर्नेमा जोड दिएका छन् ।
बैठकले संविधान सभाको म्याद थप्ने सरकारी प्रस्तावको विपक्षमा उभिने निर्णय गदै प्रधानमन्त्रीले सहमतिको सरकार निर्माणकोलागी बातावरण निर्माण गर्न तत्काल प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई राजिनामा दिन माग पनि गरेको छ ।
उनीहरुले जेठ १४ भित्रै नयाँ संविधान निर्माणमा जोड दिदै त्यसकालागी प्रयत्न गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन् ।
यसैवीच केन्द्रीय कार्य समितिको बैठकमा उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले सरकारमा रहेकोले आफुले सरकारी प्रस्तावको विरोध गर्न नसकेको भन्दै आजबाट आफु सरकारमा नरहेको घोषणा गरेका छन् ।
उनले प्रधानमन्त्रीले जवरजस्ती संविधानसभाको म्याद थपको प्रस्ताव दर्ता गर्न लगाएकोले आफू सरकारमा बस्नुको औचित्य सकिएको स्पष्ट पारेका थिए ।
संविधानसभाको म्याद थप्नु गल्ती भएको भन्दै सिटौलाले संविधानसभाको म्याद थप्न नसकिने धारणा राखेका थिए ।