अन्तत तीन दल र मधेसी मोर्चाको बैठक निष्कर्षबिहीन, माओवादी-मधेसी सत्ताको दम्भ देखाएको काङ्रेसको आरोप

माधव ढुङ्गेल

 


काठमाडौँ – प्रमुख तीन दल र मधेसी मोर्चाको सिंहदरबारस्थित रक्षा मन्त्रालयमा बसेको बैठक फेरि बिना कुनै निश्कर्ष सकिएको छ। भोलि बिहान ८ बजे फेरि बैठक बस्ने गरी आजको बैठक सकिएको सहभागी नेताहरुले बताए।

 


यसअघि सिंहदरबारमै बसेको बैठक पनि निश्कर्षविहीन भएको थियो। त्यसलगत्तै शितल निवास पुगेका शीर्ष नेताहरुले राष्ट्रपति रामवरण यादवलाई सहमति गरी जेठ १४ भित्रै संविधान जारी गर्ने विश्वास दिलाएका थिए। तर त्यसपछि सिंहदरबारमै बसेको बैठकमा सबैले आ-आफ्नो अडान नत्यागेपछि बैठक भोलि बिहान फेरि बस्ने गरी टुङ्गिएको थियो।

यसअघिको बैठकमा माओवादी पक्षले राज्य पुनर्संरचना आयोगको सिफारिश अनुसार १४ र फरक मतका रुपमा आएको ६ प्रदेशलाई भोटिङमा लैजान प्रस्ताव गरेको विषयलाई कांग्रेस-एमाले विरोध जनाएका थिए। ‘हामीले जुन पक्षमा दुई तिहाइ आउँछ त्यसैलाई मस्यौदा गरौं भन्यौं’, बैठकबाट बाहिरिए लगत्तै माओवादी नेता नारायणकाजी श्रेष्ठले संवाददातालाई जानकारी दिँदै भने।


सत्ताको दम्भ देखाउँदै माओवादी-मधेसीले अन्तिम समयमा दुई तिहाइको धम्की दिएको कांग्रेस नेता रामशरण महतले बताए। ‘बहुमतबाट गर्ने भए पहिलै प्रक्रिया सुरु गर्नुपर्थ्यो’, उनको भनाइ थियो- ‘पहिले किन प्रक्रिया सुरु नगर्ने अनि अहिले अन्तिम समयमा दुवैले सत्ताको बलबाट पारित गराउन सक्छौं भनेर अडान लिए।’

त्यसैगरी एमाले उपाध्यक्ष वामदेव गौतमले भने, ‘बहुपहिचान र सामर्थ्यका आधारमा राज्य पुनः संरचना हुनुपर्छ भन्ने हाम्रो प्रस्ताव उहाँहरूले ठाडै अस्वीकार गर्नुभयो’। नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले सहमति नभइ थाँती रहेका विषयलाई रूपान्तरित संसदबाट निरूपण गर्न सकिने भन्दै राज्य पुनः संरचना आयोगले प्रस्तुत गरेका प्रदेशमासमेत सहमति कायम गर्न सकिने बताए।

बैठकमा सहभागी मधेसी मोर्चा राजेन्द्र महतोले संघीयताको बारेमा प्रस्ट कुरो नलेखी संविधान जारी हुन नसक्ने बताए। उनले कङ्ग्रेस तथा एमाले सहमतिमा पनि नआएको र प्रक्रियामा पनि जान नचाहेको बताए।