रितेश त्रिपाठी
वीरगन्ज – रौतहट सदरमुकाम गौरसँग जोडिएको भारतीय सीमावर्ती बजार वैरगिनियामा स्थानीय र भारतीय सीमा सुरक्षा बलबीच भएको हिंसात्मक झडपपछि नेपाली सीमामा कडाई गरिएको छ। उक्त झडपमा एक जनाको मृत्यु हुनुका साथै थुप्रै घाइते भएका छन्। मृत्यु हुनेमा स्थानीय निरज पासवान छन्।
कुनै अप्रिय स्थिति आउन नदिनका लागि सीमामा कडाई गरिएको रौतहट जिल्लाका प्रहरी उपरीक्षक ठूले राईले बताए।
एक महिलासँग सीमा सुरक्षा बलका प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाउँदै त्यहाँ शुक्रबारदेखि स्थानीय जनता विरोधमा ओर्लिएका थिए। शनिबार बिहानको झडपमा सुरक्षा बलको क्याम्पमा आगो लागेपछि स्थितिले उग्र रुप लिएको थियो।
स्थानीयले भने प्रहरी आफैंले आफ्नो क्याम्पमा आगो लगाएर त्यसको दोष स्थानीयमाथि लगाएको आरोप लगाएका छन्।