फ्रान्सका राष्ट्रपतिद्धारा अफगानिस्तानमा रहेका फ्रान्सेली सैनिकलाई सन् २०१२ को अन्त्यसम्ममा फिर्ता गर्ने घोषणा

अफगानिस्तानमा रहेका फ्रान्सेली सैनिकलाई फर्काइने


फ्रान्सका नवनिर्वाचित राष्ट्रपति फ्राँस्वा ओलाण्डले अफगानिस्तानमा रहेका दुई हजार फ्रान्सेली सैनिकलाई सन् २०१२ को अन्त्यसम्ममा फिर्ता गर्ने घोषणा गर्नु भएको छ । उहाँले अब अफगानी सैनिक नै आफनो जिम्मेवारी पुरा गर्न सक्षम भएकाले आफना सैनिक फिर्ता गर्न लागेको प्रष्ट्याउनुभयो ।

 

 बाँकी १३ सय सैनिकलाई फिर्ता गर्ने समय उहाँले तोक्नुभएको छैन । अनौपचारिक भ्रमण क्रममा अफगानिस्तानको काबुल पुग्नुभएका ओलाण्डले फ्रान्सेली सैनिकसँगको भेट र त्यहाँका राष्ट्रपति हमिद कारजाईसँगको छलफलपछि यस्तो घोषणा गर्नुभएको हो ।

 

अफगानिस्तानमा तैनाथ फ्रान्सेली सैनिकलाई फिर्ता बोलाउनेबारे उनीहरुलाई स्पष्ट पार्न काबुल आएको ओलाण्डको भनाई छ । फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीले अफगानिस्तानमा तैनाथ रहेका आफना सैनिकलाई सन् २०१४ सम्ममा फिर्ता बोलाइसक्ने निर्णय उल्ट्याएर ओलाण्डले २०१२ को अन्त्यमै फर्काउने निर्णय लिनुभएको हो ।

 

अफगानिस्तानमा हाल करिब तीन हजार फ्रान्सेली सैनिक छन् ।