दलहरुले भोलि सम्ममा संविधान जारी गर्नका लागि अन्तिम प्रयास गरिरहेका छन् । अहिले केहिबेरमा प्रधानमन्त्री निवास बालुवाटारमा तीन दल र मधेशी मोर्चाको बैठक बस्दैछ । बैठकमा संविधानसभा अध्यक्ष सुवास नेम्वाङ पनि सहभागि हुँदै हुनुहुन्छ । बालुवाटार बैठकपछि आजै सभाध्यक्ष नेम्वाङले राष्ट्रपति डा. रामबरण यादवसँग भेटवार्ता गर्ने वताइएको छ । यसअघि आज बिहान बसेको तीन दलको बैठक बिना निश्कर्ष टुङ्गिएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा विहान भएको बैठकमा माओवादी, कांग्रेस, एमाले र मधेशी मोर्चाका नेता सहभागी थिए ।
कांग्रेस र एमालेले बहुपहिचानका ८ प्रदेश, साझा नामका ११ प्रदेशसहित तत्काल संविधान जारी गर्न वा रुपान्तरित संसद र संघीय आयोगबाट टुंग्याउने गरी ६ देखि १५ प्रदेश बनाउने गरी संविधान जारी गर्ने पक्षमा छन् । तर माओवादी र मधेशी मोर्चाले त्यसलाई अस्वीकार गरेका छन् । उनीहरु एकल पहिचानसहितको १० वा १४ प्रदेश नै बनाउनु पर्ने अडानमा छन् । यसका लागि हिजो दिनभर पनि नेताहरुले निरर्थक प्रयास गरेका थिए । पछिल्ला बैठकहरुमा नेताहरुले एकार्कालाई दोष थोपर्दै आफू चाखिने प्रतिक्रिया दिँदै उम्कने गरेका छन् ।
संविधानको विषयमा कुरा केन्द्रित भएको देखाए पनि दलहरुबीच जेठ १४ पछि कस्को हातमा सत्ताको बागडोर रहने भन्ने विषय मूख्य रहेको बताइन्छ । पाँच बुँदे सहमति अनुसार माओवादीले सत्ताको नेतृत्व आफूलाई सुम्पिनुपर्ने माग कांग्रेसको छ । यसमा एमाले पनि सहमत छ । तर माओवादी भने जेठ १४ पछि पनि सकेसम्म आफ्नै नेतृत्व र अहिलेकै गठबन्धनलाई तन्काउन खोज्दैछ । मधेशी मोर्चा पनि यही पक्षमा रहेको देखिन्छ । RSS