दलहरु भोलि सम्ममा संविधान जारी गर्नका लागि अन्तिम प्रयासमा

काठमाडौं – संविधान जारी गर्ने अन्तिम मिति आइपुग्न केही घन्टामात्र बाँकी रहँदा तीन प्रमुख दल र मधेसी मोर्चाका शीर्ष नेता सम्मिलित बैठक जारी छ। प्रधान मन्त्री निवास बालुवाटारमा जारी यो बैठकले आजै एउटा निष्कर्षमा पुग्ने प्रयास गरिरहेको थाहा भएको छ।

 

बैठकमा माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ, काग्रेसबाट सभापति सुशील कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेल, एमालेबाट अध्यक्ष झलनाथ खनाल, माधव नेपाल, केपी ओली र विद्या भण्डारी, तथा मधेशी मोर्चाबाट महन्थ ठाकुर, विजय गच्छदार, राजकिशोर यादव, महेन्द्र यादव र राजेन्द्र महतो सहभागी छन् ।

 

शासकीय स्वरुप र सङ्घीयताबारे दलहरु निकै नजिक पुगेको स्रोतले बताएको छ। सधैंजसो प्रमुख दलका शीर्ष नेतामात्र सम्मिलित हुने यस्तो बैठकमा आज भने सभामुख सुभाषचन्द्र नेम्वाङसमेत सहभागी छन्।

 

यही कारण पनि आज दलहरु संविधान निर्धारित समयमै जारी गर्नेबारे केही गम्भीर भएको अनुमान लगाइएको छ।