काठमाण्डौं । संविधानसभाको म्याद सकिने अन्तिम दिन आइतवार विभिन्न जातिय संघसंगठनले संविधान जसरी भएपनि जारी गर्न माग गर्दै संविधान सभाको भवन घेराउ गरेर दलहरुलाई खबरदारी गरिरहेका छन् । संविधान जारी गर्ने अन्तिम दिन आइतबार पनि विभिन्न संघ संगठनले संविधानसभा भवन नयाँ बानेश्वर केन्द्रीय प्रदर्शनलाई जारी राखेका छन् । शनिवार दिनभर प्रदर्शन गरेका संघ संगठनले आइतवार पनि विहानैदेखि जातीय राज्यको पक्ष र विपक्षमा संविधान सभा भवन परिसरमा प्रदर्शन गरीरहेका छन् ।
यसैवीच संविधानसभाको म्याद सकिने अन्तिम दिन नयाँ संविधान निर्माणका लागि खबरदारी गर्न सम्पूर्ण नेपाली जनतालाई शान्तिपूर्ण रुपमा सडकमा उत्रन नेपाल आदिवासी जनजाति महासङ्घले आग्रह गरेको छ । महासङ्घका अध्यक्ष राजकुमार लेखीले आइतवार एक प्रेस विज्ञप्ती जारी गरी संविधानसभामा मतदान गरेर भए पनि नयाँ संविधान तयार पार्न प्रमुख दल तथा तिनका सभासद्हरुलाई आग्रह गर्नुभएको छ ।
लेखीले संविधान जारी नभई संविधानसभा विघटन भए सभासद् र शीर्ष नेतृत्व तहलाई नेपाली जनताले माफ नदिने र नेपाली इतिहासमा नेता तथा सभासदहरु कलङ्कको पात्र बन्ने वताउनु भएको छ । लेखी नेतृत्वको आदिबासी जनजाति महासंघले एकल जातीय पहिचानयुक्त सङ्घीयतासहितको नयाँ संविधान जारी गर्नका लागि दबाब दिन नयाँ बानेश्वरस्थित संविधानसभा भवन घेराउ समेग गरिरहेको छ ।
त्यसैगरी बाहुन, क्षत्री, ठकुरी लगायको संयुक्त संर्घष समितिले पनि विहान ११ बजे देखि संविधान सभा भवन परिषरमा प्रदर्शन गर्ने भएको छ । संविधानसभाको बैठकमा ११ बजे पसेका नेताहरुलाई संविधान जारी नगरी बाहिर आउन नदिने संर्घष समितिले जनाएको छ ।रा स स