एक वर्ष जेल सजायबाट बच्न प्रधानमन्त्रीबाट प्रधानन्यायाधीशलाई महाअभियोग, प्रधानमन्त्री निकट सांसदहरु हस्ताक्षर गर्दै, सत्ता कब्जाको आशंका

सर्वोच्च अदालतको फैसला कार्यान्वयन नगरी अपहेलनामा एक वर्ष थुनिनु पर्ने भएपछि प्रधानमन्त्री डा. बाबुराम भट्टराई प्रधान न्यायाधीश खीलराज रेग्मी र न्यायाधीश कल्याण श्रेष्ठविरुद्ध व्यवस्थापिका संसदमा महाअभियोग प्रस्ताव दर्ता गर्ने भित्रि खेलमा लागेका छन ।


संविधान सभाको म्याद जेठ १४ पछि थप्न नपाइने अदालतको फैसला कुल्चदै प्रधानमन्त्रीले संसद सचिवालयमा तीन महिना सभाको म्याद थप्ने प्रस्ताव लगेपछि परेको रिटमा सर्वोच्चले म्याद थपको प्रस्ताव अगाडि नबढाउन र आफ्नो आदेश किन कार्यान्वयन नगरेको हो र किन अपहेलनाको कारबाही नगर्ने भनी सात दिनभित्र सशरीर उपस्थित हुन प्रधानमन्त्री र तत्कालिन कानून मन्त्री कृष्ण सिटौलालाई आदेश गरेको थियो । यदि अपहेलनामा कारबाही भयो भने प्रधानमन्त्री र सिटौलालाई एक एक वर्ष जेल र दस दस हजार रुपैयाँ जरिवाना हुन सक्छ ।

यसबाट अत्तालिएका प्रधानमन्त्रीले प्रधानन्यायधीशले जननिर्वाचित संविधानसभामाथि अनावश्यक हस्तक्षेप गरेको, सरकारले अदालतमा पुनरावेदन दर्ता गर्न खोज्दासमेत नदिएर निवेदन दरपीठ गरिदिएको तथा न्यायाधीश कल्याण श्रेष्ठले आफूलाई अपमानित गरेको भन्दै रेग्मी र श्रेष्ठविरुद्ध महाअभियोग लगाउने तयारी गरेको बताइन्छ ।


दलका शीर्ष नेताहरु बालुवाटारमा छलफलमा जुटिरहेका बेला प्रधानमन्त्री निकटका युवा सभासद्हरु भने महाअभियोग लगाउनेबारे छलफल गर्न नयाँ बानेश्वरमा भेला भएको बताइन्छ ।


न्यायाधीशमाथि महाअभियोग प्रस्ताव दर्ता गर्न व्यवस्थापिका संसद्मा २५ प्रतिशत सभासद् आवश्यक पर्छ ।
यद्यपी न्यायाधीश विरुद्धको महाभियोग पारित गर्न संसदको दुई तिहाइ मत पुग्ने भएकाले प्रधानमन्त्रीको योजना तुहिने लगभग निश्चित छ ।


यसअघि हिजो प्रधानमन्त्री कार्यालयमा समेत प्रधान न्यायाधीशमाथि महाअभियोग लगाउने बारे छलफल भएको थियो । त्यसो त गत मंसिर ९ गते सर्वोच्चअदालतले संविधानसभाको म्याद बढाउन नपाउने फैसला गरेकै बेला रेग्मीमाथि महाअभियोग लगाउने बारे प्रम कार्यालयमा छलफल भएको थियो । तर, त्यसबेला प्रधानमन्त्रीले अहिल्यै यसो नगरौं भनेपछि रोकिएको थियो । अहिले भने उनल्े हस्ताक्षर अभियान चलाएको बताइन्छ ।


प्रधानमन्त्रीको पछिल्लो कदम माओवादीको सत्ताकब्जाको रणनीति अनुसार आएको हुन सक्ने जानकारहरुले बताएका छन् । AGENCIES