आगामि मंसिर ७ गतेकोलागी संविधानसभाको अर्को निर्वाचन

काठमाडौ । मन्त्री परिषदको बैठकले आगामि मंसिर ७ गतेकोलागी संविधानसभाको अर्को निर्वाचन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्री परिषदको बैठकले त्यस्तो निर्णय गरेको महिला बालबालिका तथा समाज कल्याण मन्त्री बद्रीप्रसाद न्यौपानेले जानकारी दिए ।

प्रधानमन्त्रीले मंसिर ७ गतेकालागी नयाँ संविधानसभाको निर्वाचन प्रस्ताव गरे पछि नेकपा एमाले, राप्रपा, नेकपा माले र नेकपा संयूक्तले मन्त्री परिषदको बैठक बहिस्कार गरेका थिए ।


उपप्रधानमन्त्री ईश्वर पोख्रेलले दलहरुवीच भएको छलफल वीपरित प्रधानमन्त्रीले निर्वाचनको प्रस्ताव ल्याएको भन्दै त्यसमा आफुहरु सहमत हुन नसकेकोले बैठक बहिस्कार गरेको जानकारी दिए ।


मन्त्री पोख्रलले दलहरुसँग सहमति नै नगरी संविधानमा कुनै आधार नै नभई फेरि संविधानसभाको निर्वाचनको घोषणाको तयारी गरेको भन्दै ४ वर्षमा संविधानसभाले काम गर्न नसकेको विषयमा जानकारी नै नदिई विनाआधार संविधानसभाको निर्वाचन फेरि गर्न लागेकोले आफूहरुले बैठक बहिस्कार गरेको बताए ।

पोख्रेलले प्रधानमन्त्री पेलेर अगाडि बढ्ने सोचका साथ अगाडि बढेको भन्दै सहमति विपरित प्रधानमन्त्री अगाडि बढे एमालेले सरकार समेत छाड्ने चेतावनी दिए ।


राप्रपाको तर्फबाट मन्त्री बनेका पर्शुराम खापुङले राष्ट्रिय सहमतिको सरकार निर्माण गर्छु भन्ने प्रधानमन्त्रीले सहमतिकोलागी राजिनामा दिनुको साटो अरु दलहरुसँग सहमतिनै नगरी निर्वाचनको प्रस्ताव ल्याएको भन्दै आफ्नो दलमै छलफल नभएको अवस्थामा आफुहरुले बैठक बहिस्कार गरेको र आवश्यक परे सरकार समेत छाड्ने बताए ।


मालेका तर्फबाट मन्त्री बनेका कुमार बेलबासे र नेकपा संयूक्तको तर्फबाट मन्त्री बनेका चन्द्र देव जोसीले पनि बैठक बहिस्कार गरेका छन् ।