सरकारले संविधानसभाको चुनावको मिति घोषणा गरेकोप्रति टिप्पणी आउने क्रम जारी छ । एकीकृत माओवादीका उपाध्यक्ष मोहन बैद्य पक्षले नै सो कदमप्रति गम्भीर आपत्ति जनाएको छ भने राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टीले स्वागत गरेको छ ।
उपाध्यक्ष बैद्य र महासचिव रामबहादुर थापाले आज संयुक्त विज्ञप्ति जारी गरी तत्काल राजीनामा गरेर राष्ट्रिय सहमतिको सरकार गठनको बाटो खोल्न प्रधानमन्त्री भट्टराइलाई आग्रह गर्नुभएको हो ।
संविधानसभा र संसद नै विघटन भएको अवस्थामा वर्तमान सरकारले स्वतः सम्बैधानिक हैसियत गुमाएको भन्दै उहाँहरुले राष्ट्रिय सहमतीको सरकार गठनमा जोड दिनुभएको छ ।
बैद्य र थापाले राजनीतिक दलहरुको सहमतिबिना नै संविधानका प्रावधानहरुलाई समेत बेवास्ता गरेर प्रधानमन्त्रीले चुनावको मिति घोषणा गरेको आरोप समेत लगाउनु भएको छ । उहाँहरुले आपसी छलफललाई तिव्रता दिँदै साझा सहमतिका लागि अग्रसर हुन दलहरुलाई आग्रह समेत गर्नुभएको छ । माओवादी अध्यक्ष मातृका यादवले पनि विज्ञप्ती जारी गरी प्रधानमन्त्रीको राजीनामा माग्नु भएको छ । यसैबीच चुनावको घोषणा र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न आज दिउँसो माओवादी संस्थापन पक्षको स्थायी समितिको बैठक बस्दैछ ।
उता, राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले नयाँ चुनाव गर्ने सरकारी निर्णयको स्वागत गर्दै निर्वाचनका लागि सबै पक्षलाई समेटेर चुनावी सरकार बनाउन माग गरेको छ । आज बसेको राप्रपा नेपाल केन्द्रीय कार्य समितिको बैठकले स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनका लागि चुनावी सरकार गठन गर्न माग गरेको हो । कार्य पूरा नगरी संविधानसभा भंग गरिएकोमा घोर भत्र्सना गरेको छ । सँगसँगै नयाँ निर्वाचन घोषणाको भने स्वागत गरेको छ । बैठकपछि राप्रपा नेपालका अध्यक्ष कमल थापाले चुनावका लागि सबै पक्षलाई समेटेर सरकार बनाउनुपर्नेमा जोड दिनुभयो ।
राजनीतिक दलहरुबीच सहमति नै नगरी प्रधानमन्त्री डा. भट्टराईले एकपक्षिय ढंगले निर्वाचनको मिति घोषणा गरे पनि त्यसलाई स्वीकार्नुको विकल्प नरहेको उहाँको भनाइ थियो ।
यद्यपी नेपाली कांग्रेस, एमाले, मधेसी जनाधिकार फोरम, उपप्रधानमन्त्री विजय गच्छदारकै दल लोकतान्त्रिक फोरम, राष्ट्रिय जनशक्ति पार्टी, राप्रपा, नेकपा माले, नेकपा संयुक्त, नेपाल परिवार दलले प्रधानमन्त्रीले चालेको कदम असंवैधानिक रहेको भन्दै उनको राजीनामा मागिसकेका छन् । RSS