– गोविन्द परियार/ नागरिक
काठमाडौं – कङ्ग्रेस-एमालेलगायतका साना दलले प्रधान मन्त्री बाबुराम भट्टराईले आइतबार मध्य रातमा गरेको चुनाव घोषणा संवैधानिक, राजनीतिक र कानुनीरुपमा अवैधानिक भएको ठहर गरेका छन्।
कङ्ग्रेस मुख्यालय सानेपामा बसेको सर्वदलीय बैठकले प्रधान मन्त्रीको चुनाव घोषणाको कदम असंवैधानिक भएको ठहर गर्दै राष्ट्रपतिलाई सर्वदलीय सहमतिको सरकार तत्काल गठन गर्न आग्रह गरेका छन्।
‘प्रधानमन्त्रीले सुनियोजित रुपमा मध्यरातमा संविधानसभा भंग गरेर चुनाव घोषणा गर्नु असंवैधानिक कदम भएको ठहर बैठकले गरेको छ’ सर्वदलिय बैठकपछि कांग्रेस केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडुले भने, ‘बैठकमा सहभागि हामी सबै दलले प्रधानमन्त्रीको पद पनि गैसकेको ठहर गर्दै राष्ट्रपतिलाई सर्वदलीय छलफल गरी सहमतिको सरकार गठन गर्न आग्रह गरेका छौ।’
बैठकले प्रधानमन्त्रीको चुनाव घोषणानै असंवैधानिक भएकाले दलहरु सहभागि नुहने समेत निर्णय गरेको छ।
‘प्रधानमन्त्रीको चुनाव घोषणानै असंवैधानिक भएपछि त्यसमा सहभागि हुने कुरै हुदैन’ बडुले भने, ‘प्रधानमन्त्रीलाई वर्खास्त गरी राष्ट्रपतिले राष्ट्रिय सहमतिको सरकार गठन गरेपछि भने चुनावको नयाँ मिति तोकेर जान सकिन्छ।’
बैठकले संविधानसभाबाट चुनिएका प्रधानमन्त्री भट्राई संविधानसभा विघटन भएलगत्तै प्रधानन्त्रीबाट पनि कामचलाउमा पुगेको ठहर गरेको छ। ‘सर्वदलिय बैठकले संविधानसभा विघटन पछि भट्राईको प्रधानमन्त्रीको पद पनि सकिएकाले तत्काल राष्ट्रिय सहमतिको सरकार गठन गर्न हामीले माग गरेका छौ’ बडुले भने।
कांग्रेसको अगुवाईमा भएको सवर्जदलिय बैठकमा एमाले, मधेसी जनअधिकार फोरम नेपाल, राष्ट्रिय जनशक्ति पार्टी, राप्रपा, लगायतका एक दर्जन साना दलका नेताहरु सहभागि थिए।